Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गठबन्धनबीच मिलेन दिल

हाम्रो कोशी आवाज
बैशाख ८ २०७९, बिहिबार
धरानमा गठबन्धनबीच मिलेन दिल

धरानः धरानमा आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि धरानमा गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी) ले आयोजना गरेको कार्यक्रममा झन्डै कुटाकुटको स्थिति सिर्जना भएको छ ।
गठबन्धन दलहरु अब धरानमा एक भएर चुनाव लड्ने र सबै मिल्यौं भनेर धरान-१५ स्थित धरान किचन होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमै यस्तो स्थिति आएको हो । भागबण्डा नमिलेपछि यस्तो अवस्था आएको हो । कांग्रेसका केही कार्यकर्ताले पत्रकार सम्मेलनमा प्रवेश गरी कांग्रेसले जित्ने वडामै माओवादी केन्द्रलाई भागबण्डा गरिएको असन्तुष्टि पोख्दै कार्यक्रमस्थलमा होहल्ला गर्दै प्रवेश गरेका थिए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति अनुसार कांग्रेसले धरानमा मेयरसहित १, २, ५, ६, ७, ८, ११, १२, १३, १४, १६ र १८ नम्बर वडामा भागबण्डा गरिएको छ भने नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित ३, १५, १७ र २० नम्बर वडा लिनेगरी भागबण्डा भएको छ । यस्तै, जनता समाजवादी पार्टीका लागि १० र १९ साथै नेकपा एसले ४ नम्बर वडा भागमा पारेको छ । सहमतिअनुसार कांग्रेसलाई धरानमा मेयरसहित १३ वडाअध्यक्ष, माओवादी केन्द्रलाई उपमेयरसहित चार वडाअध्यक्ष, जसपालाई दुई वडाअध्यक्ष र नेकपा एकीकृत समाजवादीलाई ४ नम्बर वडा अध्यक्षसहित सबै सदस्य दिएर भागबण्डा मिलाइएको पाइएको छ ।
नेकपा एस धरान नगर अध्यक्ष रेवतीरमण राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, जनता समाजवादीका नगर अध्यक्ष ताजुब लिम्बू, जनता समाजवादीका केन्द्रीय सदस्य भीम राईले बोलिसकेर नेपाली कांग्रेसका महामन्त्री उमेश थापा बोल्दै गर्दा कार्यक्रममा असन्तुष्ट कार्यकर्ता प्रवेश गरेर नाराबाजी गर्न थालेका थिए । त्यतिबेला झन्डै हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो । नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेलले पार्टी अफिसमा असन्तुष्ट कार्यकर्तालाई डाकेर छलफलमा राख्ने बताएपछि तनावको स्थिति साम्य भएको थियो ।
नेपाली धरान-१५ का सभापति डम्बर कुङ्गेरुले पार्टीले समन्वय नगरेको कारण यस्तो भएको बताए । उनले धरान-१७ का कांग्रेस नेता वडामा बुथ सभापति, क्षेत्रीय प्रतिनिधिहरुसँग सरसल्लाह नगरि गुटको आधारमा वडाहरु भागवण्डा गरेकोले विरोध जनाएको बताए । कतिपय कार्यकर्ताले कांग्रेसका कार्यकर्ता नै यसो गर्न थाले र मेयरमा नेकपा एमालेबाट मनोजकुमार मेन्याङ्बोले टिकट पाउने हो भने सहजै जित्ने भन्दै ठट्यौली पनि गर्न भ्याएका थिए ।

प्रकाशित मिति: बैशाख ८ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend