Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हिबिस्कस स्कुलमा विद्यार्थीलाई मःम बनाउने अभ्यास

हाम्रो कोशी आवाज
बैशाख १० २०७९, शनिबार
धरानको हिबिस्कस स्कुलमा विद्यार्थीलाई मःम बनाउने अभ्यास

धरानः हामी खाजा खान होटेलमा जान्छौं । मेनु हेर्छौ, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । खाजाका रूपमा आजभोलि सबैले मःम रूचाउँछन् । अझ धरान मःम पारखीहरूको शहर हो । मःम भनेपछि हुरूक्कै हुने यहीँ छन् । मःम पछिल्लो समयमा सहरी क्षेत्रका लागि खाजाको पहिलो रोजाइ बनेको छ । पछिल्लो अध्ययनअनुसार प्रचलित खाजामध्ये मःम नै नेपाली बजारमा बढी बिक्री हुने गर्छ । हुन पनि मःम फुटपाथदेखि फाइभस्टार होटेलसम्म सजिलै उपलब्ध हुन्छ । आजकल बजारमा धेरै किसिमका मःमको स्वाद लिन सकिन्छ ।
तर मःम पारखी जति बढ्छन् त्यति तालिम गराइएको पाइँदैन । सामाजिक, आर्थिक र शैक्षिकरूपले पछाडि परेकाहरूलाई यस्तो सीपमूलक तालिम दिन सके स्वावलम्बी मात्रै बन्दैनन्, देश समृद्धितर्फ धकेलिने निश्चित छ । यो कार्य कहीँकतैबाट भएको पाइँदैन । अझै विद्यालय तहदेखि नै यसको शुरूवात गर्न सके राम्रो । अन्यलाई तालिम दिने कुरा त परै छाडौं विद्यालय तहमा पनि यसको अभ्यास हुन सकिरहेको छैन ।
तर धरान–१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलमा विद्यालय तहदेखि नै सीपयुक्त शिक्षा दिने उद्देश्यले मःम बनाउने अभ्यास गराएका छन् । विद्यार्थीलाई मःम बनाउन सामूहिक अभ्यास गराइएको स्कुलका कोअर्डिनेटर विजयसिंह थेबेले जानकारी दिए ।
कक्षा–८ मा पढ्ने छात्रछात्राले मःम बनाएर खाएनन् मात्रै शिक्षक–शिक्षिकालाई खुवाएका थिए । विद्यार्थीले मःम बनाएर चखाउँदा केही अभिभावक र शिक्षकहरु पनि दङ्ग थिए । आफूले सिकेको कुरालाई व्यवहारिकरूपमै उतार्न यस्तो कार्यक्रमको आयोजना गरिएको स्कुलका सञ्चालक, प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए ।
‘खासमा मःम बनाउनु पनि एउटा कला हो, विद्यार्थीले विद्यालय तहदेखि नै यस्ता व्यवहारिक कुरा सिक्नु र सिकाउनु जरूरी रहेको हामीले ठानेका छौं’, उनले भने, ‘यसले विद्यार्थीमा अभ्यासको विकास हुन्छ ।’

प्रकाशित मिति: बैशाख १० २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend