धरानः नेकपा एमालेले धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदमप्रसाद इश्वो लिम्बूलाई उठाउने निर्णय गरिसकेको छ ।
यसअघि मञ्जु मेयरमा उठे आफूले पनि मेयरमा स्वतन्त्र ढङ्गले उम्मेद्वारी दिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका धरान–९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले पनि स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेका छन् । ‘नाम आयो भन्ने सुनियो, अब म पनि स्वतन्त्ररुपले मेयरमा उठ्छु, पर्सि मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।’
नेकपा एमालेबाटै वडाध्यक्षमा निर्वाचित उनले यसअघि मञ्जु जुन पदमा टिकट पाउने सोही पदमा आफू स्वतन्त्रबाट उठ्ने अभिव्यक्ति दिएका थिए । ‘मैले चिनेजानेका कमसेकम पाँचसय त होलान् नि’, उनले भने, ‘मेरो पाँच सय मत आएपनि हुन्छ ।’
उनले वडाध्यक्ष हुँदा आफू केही विवादमा आएपनि राम्रो काम गरेको दावी गरेका छन् । ‘मैले धरान–९ का जनतालाई धेरै गरेको छु भन्ने कुरा जनताले भन्ने कुरा हो’, उनले भने । उनका अनुसार धरान–९ मा आफ्नै खर्चले फोहोर उठाउनेदेखि अन्य रचनात्मक कार्य गर्दै आएको बताए । मेयरको टिकट पाएकी भण्डारीले कार्यवाहक मेयर भएर पनि जनताका लागि केही गर्न नसकेको उनले आरोप लगाए । ‘त्यही भएर पनि मेरो उम्मेद्वारी हो ।’ उनले भने ।