धरानः आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं (१९ निवासी पदम इश्वो (लिम्बू) लाई उपमेयरको उम्मेद्वार बनाएको छ ।
उनको राजनीतिक क्षेत्रमा लामो समयदेखि पार्टीमा निरन्तर निःस्वार्थ भावनाले क्रियाशील रहने नेताको रुपमा परिचित छन् । पद र शक्तिभन्दा पनि पार्टीलाई योगदान गर्नुपर्छ भन्ने मान्यता बोकेका इश्वो धरानमा इमान्दार र जुझारु युवा नेताको रुपमा चिनिन्छन् । २०५६ सालदेखि निरन्तर ११ वर्षसम्म धरान नगर कमिटीको सदस्यमा रहेर काम गरेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सहसंयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा अहोरात्र लागेका इश्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट उपमेयरको लागि उम्मेदवार पाएसँगै उनको चर्चा अझै चुलिएको छ ।
पार्टीमा योगदान मात्र होइन धरानलाई आधुनिक शहर जनसहभागितको शहर बनाउन उनको पनि जग जाहेरै छ । तत्कालीन धरान नगरपालिकाका मेयर मनोज मेन्याङ्बोको कार्यकालसँगै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी जन निर्वाचित १९ नं. वडाको वडाध्यक्ष समेत भए ।
जनसहभागिताको शहर बनाउन मेयरलाई सहयोग गर्ने मुख्य मान्छे तीनै पदम थिए । नगरको विकासमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्छ भनेर धरानले त्यस वेला अभियान चलाएको थियो । त्यस अभियानमा पदम पनि सामेल थिए । त्यतिबेला मेयर बनेका मेन्याङ्बो तथा लिम्बू लगायतको जोडबलमा धरानमा स्थानीयको सहभागितामा चिल्ला सडकहरु बनेका थिए । धरानलाई आधुनिक शहर बनाउने अविचिलत तत्कालीन धरान नगरका पूर्व वडाध्यक्ष समेत हुन् । उनी वडाध्यक्ष भएको कार्यकाल अवधिमा नै वडा नम्बर १९ का वासिन्दाले चिल्ला सडक आफ्नै घर अगाडि पाए । जुन वडा अहिले नमूना वडाको रुपमा रहेको छ ।
युवा संघको केन्द्रीय नेतृत्वसम्म
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका (साविक चुहानडाँडा गाविस ) मा २०४० सालदेखि राजनीतिक जीवन यात्रा शुरु गरेका हुन् । तेह्रथुमकै शारदा माविमा अध्ययन गर्ने क्रममा अनेरास्ववियुबाटै इश्वोको राजनीतिक जीवन यात्रा शुरु भएको हो । विद्यार्थी कालदेखि नै विद्यार्थीहरुको हकहित र अधिकारको आवाजलाई बुलन्द गर्दै अघि बढेका उनी विसं २०४२ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गर्ने सिलसिलमा धरान आएका थिए ।
क्याम्पसमा पनि अध्ययनका साथै अनेरास्ववियु सहप्रारम्भिक कमिटीमा आबद्ध रहेर नै राजनीतिक यात्रालाई थप अघि बढाए । तेह्रथुमबाट धरान आएर अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि संगठित गरेका थिए । विसं २०४६ सालमा अनेरास्ववियु तेह्रथुम धरान सम्पर्क मञ्चको उपाध्यक्ष भएर विद्यार्थीकै हकहितमा काम गरेका थिए । राजनीतिमा नेकपा एमालेको प्ररायु संघ ( राष्ट्रिय युवा संघ ) सुनसरीको २ कार्यकाल अध्यक्ष भएर नेतृत्व गर्ने क्रममा जिल्ला संगठनलाई नेपालकै उत्कृष्ट जिल्ला बनाउन सफल भए ।
तदअनुरुप सर्वोत्कृष्ट जिल्ला २०६१ मा सुनसरीको संगठनले ११ हजार नगदसहित सम्मानित भएका थिए । युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य एवम् कोशी अञ्चल इन्चार्ज, युथ फोर्स नेपालको पूर्वाञ्चल सहसंयोजक भएर राजनीति क्षेत्रको उचाईमा युवाहरुमाझ आफुलाई थप स्थापित गराउँदै लगे । त्यसैगरी युवा किसान महासंघको केन्द्रीय उपाध्यक्ष, किसान महासंघको राष्ट्रिय सदस्य र सुनसरी इन्चार्ज रहेर युवा किसानहरुको नेतृत्व गरेका छन् । उनी यतिबेला पनि युवाहरु माझ लोकप्रिय छन् । उनी २०४६ सालको जन आन्दोलनमा समेत समेत सक्रिय नेतृत्व गरेका थिए । त्यो भूमिकाकै कारण नै इश्वोलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।
वडा कमिटी सचिव हुँदै वडाध्यक्ष सम्म
धरान–१९ मा २०५१ सालदेखि नेकपा एमाले वडा कमिटीको सचिव भएर पार्टीको काममा सक्रिय भए । उनले २ कार्यकाल वडा सचिवको भूमिका निर्वाह गरे र पार्टीलाई थप संगठित मजबुद बनाउँदै २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षमा पनि विजयी भए । वडालाई सम्मुन्नत वडा बनाएर जनताको थप मन जित्न सफल भए । उनी तत्कालीन समयमा धरानको कान्छो वडाध्यक्षको रुपमा समेत परिचित थिए । आफ्नो कार्यकालयमा धरान नगरभित्र पहिलो पटक वडा समितिको आफ्नै वडा कार्यालय स्थापना गरी सञ्चालन गर्ने वडाध्यक्ष समेत हुन् । त्यो बेला वडा कार्यालय धरानमा कतैपनि सञ्चालनमा थिएनन् ।
धरानको खेलकुद विकासमा अग्रणी भूमिका
पदम इस्वो २०५५ सालमा धरान फु्टबल क्लबको संस्थापक सदस्य समेत हुन् । धरानको फुटबल खेललाई अन्तराष्ट्रियरुपमा परिचति गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । धरान फुटवल क्लबको विधान तथा स्वागत गीतका रचनाकार समेत हुन् । विसं २०६३ सालमा खेलकुद विकास समिति सुनसरीको अध्यक्ष बन्न सफल भए । उनकै कार्यकालमा कोशी अञ्चल खेलकुद विकास समितीको नाममा रहेको अचल सम्पत्ति धरान रंगशालाको जग्गा तथा धरान–१० को कवर्डहलको जग्गालाई समेत जिल्ला खेलकुद विकास समितिको नाममा ल्याएका हुन् ।
उनी भन्छन, ‘धरान खेलकुदको शहर तर यहाँ कुनै खेलकुदको भौतिक संरचनाहरु नहँुदा लज्जास्पद स्थित थियो, मेरो कार्यकालमा खेलकुद क्षेत्रको विकासको लागि भौतिक संरचना बनाएपछि अहिले थप सजिलो भएको छ ।’ धरानमा रहेका खेलकुदका संरचना बनाउने काममा उनको महत्वपूर्ण योगदान रहेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सूचना केन्द्रको स्थापना गरेर खेलाडीहरुलाई सूचनाद्वारा जोड्ने काम समेत गरेका थिए ।
शिक्षकदेखि कानुनी व्यवसायसम्म
इश्वो बहुप्रतिभाका धनी व्यक्ति हुन् । हरेक क्षेत्रमा उनको योगदान तथा अनुभव रहेको छ । वि सं २०४८ सालदेखि ६ वर्षसम्म किराँतेश्वर निमाविमा ६ वर्षसम्म अध्यापन गराए । त्यसैगरी २०५१ सालदेखि ३ वर्षसम्म महेन्द्र वहुमुखी क्याम्पस धरानमा समेत उनले अध्यापन गराए अर्थात् सामाजिक, शैक्षिक, राजनीतिक, खेलकुदलगायतको क्षेत्रमा उनको लामो अनुभव छ । इश्वो कानुनी व्यवसायी समेत हुन् । धरान कानुन व्यवसायी क्लबको संस्थापक उपाध्यक्ष समेत हुन् । २३ वर्षदेखि निरन्तर कानुनी पैरवी गर्दै आइरहेका इश्वो नेपाल बार एसोसिएन केन्द्रिय परिषदको सदस्य समेत छन् । कानुन व्यवसायको भुमिका रहँदा गरिव निवारण तथा छुवाछत विरुद्धको क्षेत्रमा निःशुल्क सेवा प्रदान गरेका छन् ।
समृद्ध शहर बनाउने प्रतिबद्ध
आसन्न स्थानीय तहको निर्वाचनमा उप मेयरका उम्मेद्वार बन्न सफल बनेका इश्वोले नेकपा एमालले राष्ट्रियताको सवालमा लिएको चटानी अडान नै आम जनताले सूर्य ध्वजावाहक चिन्हमा मतदान गरेर विजयी गराउने बताए । उनले भने, ‘धरानबासीको लागि म २४ सै घण्टा सक्रिय हुनेछ, धरानको विकास, सुखी धरान र समृद्ध धरान बनाउनलाई धराने जनताको चाहनाअनुसार नै जितेपछि इमान्दार भई काम गर्नेछु ।’
पहिलो स्थानीय तहमा एमालेका जनप्रतिनिधीले गरेको कामले पनि धरानमा एमालले जनताको मन जित्न सफल भएको छ । उनीहरुले गरेको विकासले आज धरानको मुहार फेरिएको छ । एमाले पार्टीले राष्ट्रिय सरकारमा रहँदा गरेको सुकुम्वासीको समस्याका सन्दर्भमा ल्याएको नीति तथा कार्यक्रमलाई थप कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उनी बताउँछन् । धरानको दिगो विकास युवाको आमूल परिर्वतन खानेपानी समस्याको समाधान, धरानलाई दुव्र्यसनमुक्त बनाउने र शिक्षा, स्वास्थ्य पर्यटनको क्षेत्रका विशेष योजना बनाउने र धरानलाई समृद्ध शहर बनाउनको लागि कटिबद्ध रहने छु । इश्वो कानुन व्यवसायी (वकिल) समेत भएकाले धरानको न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा निष्पक्ष न्यायको समेत धराने जनताले आशा भरोसा गर्ने उनी बताउँछन् ।