धरानः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यसपालि सत्तारुढ पाँच दलीय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको युवापुस्ताका नेता राई संघर्षशील, स्पष्टवक्ताका रुपमा लोकप्रिय नेताका रुपमा चिनिँदै आएका छन् । धरानमै हुर्किएका उनी धरानका सबै समस्याहरुसँग परिचित छन् र मेयरको र्हैसियतमा समाधानको क्षमता पनि राख्छन् ।
नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय मानार्थ उपाध्यक्ष समेत रहेका, नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म आमा लक्ष्मी राई र पिता पृथ्वीबहादुर राईको कोखबाट २०२४ साल चैत्र १७ गते बोराबाध, मोरङमा भएको हो । उनले आइएसम्मको अध्ययन गरेका छन् । आमा लक्ष्मी धरानमा छापाखाना व्यवसाय र सामाजिक सेवामा सक्रिय रहेकीले उनी आमासँग धरानमै बाल्यकालदेखि हुर्किएका हुन् । फुटबलको राष्ट्रिय खेलाडीको रुपमा सक्रिय रहँदा रहँदै २०४७ सालदेखि उनको सक्रिय राजनीतिक जीवन धरानमा नेपाली कांग्रेसलाई सशक्त बनाउने उद्देश्यबाट सुरु भएको हो ।
फुटबलका अब्बल खेलाडी राई २०५१ सालमा नेपाली कांग्रेस धरान वडा नम्बर १२ को बुथ सभापति भएका थिए । २०५४ सालको स्थानिय निर्वाचनमा धरान वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित भए । २०५५ सालमा कांग्रेस धरानको नगर सचिव भएका राई २०५८ सालमा नेपालि कांग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति भए । उनले २०६२–०६३ को जनआन्दोलनमा धरानबाट आन्दोलनको सक्रिय नेतृत्व गरेका थिए । २०६६ सालदेखि २०७२ सालसम्म नेपाली कांग्रेस धरानको नगर सभापति रहेका उनी २० वर्षसम्म धरान नगरपालिका जनप्रतिनिधिविहीन रहँदा सर्वदलीय संयन्त्र रहँदा धरानको विकास, निर्माणका विषयमा नगरपालिकाले गर्ने निर्णयहरु निर्णायक पार्टी नेताका रुपमा परिचित छन् । राजनीतिक संयन्त्रको प्रमुख हुँदा धरानको खानेपानी समस्या समाधानका लागि आयोजना ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सानै उमेरदेखि फुटबलमा रुचि राख्ने उनि किशोरवयमा टेक्दा टेक्दै राष्ट्रिय खेलाडी मात्र बनेनन् नेपालमा फुटबलको सर्वोच्च संस्था एन्फाका केन्द्रीय उपाध्यक्षमा पनि निर्वाचित भए । एन्फामा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका उनकै प्रयासमा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाको गोल प्रोजेक्ट धरानमा आएको हो । सो परियोजनाको परिणामस्वरुप धरान–१७ मा एन्फा टेक्निकल सेन्टर स्थापना भएको हो । किशोर राईको पहलामा स्थापित धरान फुटबल क्लबले धरानमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता प्रारम्भ गरेको हो । नेपालमा सबैभन्दा लामो समयदेखि निरन्तर आयोजना भइरहेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगीताको रुपमा बुढासुब्बा गोल्डकप फुटबल अहिलेसम्म पनि सञ्चालन हुँदै आएको छ । यो फुटबल प्रतियोगिता २३ वर्ष अघिदेखि शुरु भएको हो ।
उनले राष्ट्रिय खेलकुद परिषदका सदस्य धरानमा क्षेत्रीय रंगशालाको निर्माणको लागि भएको संघर्षमा उनले नेतृत्व गरेका थिए । उनी धरान मित्र मिलन क्लबका सस्थापक अध्यक्ष, छिमेकी स्पोर्टिङ क्लबका पूर्व अध्यक्ष हुन् । धरानलाई खेलकुदको केन्द्र बनाउन मिनी ब्राजिलको नारा दिएर उनी युवाहरुमाझ लोकप्रिय बने । उनले विदेश भ्रमणबाट पनि विकासमा धेरै अनुभव बटुलेका छन् । २०१४ मा विश्वकप फुटबलमा सहभागी हुन उनले ब्राजिलको भ्रमण गरेका छन् । दक्षिण कोरिया, मलेसियामा भएको एसियन फुटबल स्वर्ण जयन्तीमा नेपालबाट प्रतिनिधित्व, सन २०१२ मा मलेसियामा भएको अन्डर १९ बिस्वकप छनौटमा नेपालबाट टिम म्यानेजर, हङकङमा भएको सुब्बा गोल्डकप प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।
धरानको विकासको बारेमा उनी अत्यन्तै उत्साहीत युवा नेताहरु मध्ये एक मानिन्छन् । उनको भनाईमा आफैले जग्गा दिएर बाटो बनाउने, आफैले ड्रेन, ढल बनाउन श्रम र पैसा लगानी गर्ने धरानका जनताको साथ पाए धरानलाई हङकङको दाँजोमा पुरयाउन सकिने कुरामा कसैको दुइमत छैन । प्रदेश १ को राजधानी धरानलाई बनाउने आन्दोलन सबैभन्दा पहिले नेपाली कांग्रेसले गरेको थियो । त्यसमा उनले निर्णायक भूमिका खेलेका थिए । धरान राजधानी नभतापनि पूर्वाधारको विकासमा राजधानी बराबारको बनाउने प्रतिबद्धता उनको छ । धरानको खानेपानी आयोजनाको असफलताको कारण धरानबासीको अघि खुलासा गर्दै आयोजनाको पूर्वघोषित क्षमतामा खानेपानी व्यवस्थाका पुनस्थापना गर्ने नेता किशोर राईको प्रतिबद्धता छ ।
धरानको रंगशालामा साँझमा फुटबल आयोजना गर्न मिल्नेगरी फ्लड लाइट जडान गर्ने उनको योजना छ । धरान खेलकुदको उर्वरभूमि भएकाले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने र सोही मापदण्डको खेलग्राम स्थापना गर्ने परिकल्पना राईले गरेका छन् । भन्छन्, ‘म पहिलाको किशोर राई जस्तो छैन, धेरै वर्षपछि मेयर बन्ने सपना मात्रै पूरा भएको छैन, धरानलाई व्यवस्थित बनाउन लागिपर्नेछु, खेलकुदले नै धरानलाई माथि लाने योजना छ ।’