धरानः धरानबाट २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
मेयर दुईजना, उपमेयर १ जना, वडाध्यक्ष ९ जना, खुल्ला सदस्य ७ जना, महिला सदस्य ४ जना र दलित महिला सदस्य एकजना गरी २४ जनाले उम्मेदवारी फिर्ता लिएको धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, स्वतन्त्र गरेर २४ जनाले उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए ।
मेयर पदमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका रेवतीरमण राई, सचेत नेपाली पार्टीबाटै मेयरमा उम्मेदवारी दिएकी सुस्मिता कार्कीले उम्मेदवारी फिर्ता लिएकी छिन् । यस्तै, नेकपा एसबाट उपमेयरको उम्मेदवारी दिएकी अमृता सुनारले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट धरान-२ मा वडाध्यक्षका लागि उम्मेदवारी दिएकी पिंकी अग्रवाल, वडाध्यक्षमै धरान-४ बाट उम्मेदवारी दिएका कांग्रेसका गणेश बजगाईं, माओवादी केन्द्रबाट वडाध्यक्षमा धरान-६ बाट उम्मेदवारी दिएका लोकबहादुर खड्का, माओवादी केन्द्रबाटै धरान-१२ मा उम्मेदवारी दिएकी गंगा बराल पौडेलले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।
यसैबीच धरान-१ र १४ का वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएनन् । ‘हामीले राप्रपाबाट टिकट लिएका हौं’, धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले भने, ‘जनताले नै जुनसुकै चिहनबाट उठेपनि भोट हाल्छौं भनेपछि धरान–१४ का लागि आफूले उम्मेदवारी दिएको हुँ ।’
धरान–१ का वडाध्यक्ष रोशन अधिकारीले आफूले विकास, निर्माणको अधूरो काम पूरा गर्नका लागि फेरि पनि उम्मेदवारी दिन खोज्दा नपत्याएको बताए । ‘टिकट लिन खोज्दा पाँच लाख रुपैयाँ मागे’, उनले आरोप लगाए, ‘त्यही भएर मैले धरान-१ बाट टिकट पाइनँ, राप्रपाबाटै चुनाव लडेर जनताको काम सहजै गर्न सक्छु भन्ने लागेर उम्मेदवारी दिएँ, फिर्ता लिन पनि सकिनँ ।’ यस्तै, धरान–९ बाट जहाँ मञ्जु भण्डारी त्यहाँ मेयरमा उम्मेदवारी भन्दै उम्मेदवारी दर्ता गराएका पूर्व वडाध्यक्ष रत्नबहादुर कटुवालले पनि उम्मेदवारी फिर्ता लिएनन् ।








