धरानः केही वर्ष अघिसम्म धरान–५ स्थित देउराली खानेपानी व्यवस्थापन समितिका अध्यक्ष मनप्रसाद लिम्बू हुँदा व्यवस्थितरुपमा वितरण प्रणाली थियो । उनले आफ्नो अध्यक्षता कालमा देउरालीको सबै टोलहरुमा सहज खानेपानी वितरणको प्रणाली बनाएका थिए । तर उनले छाडेपछि खानेपानी व्यवस्थापन अव्यवस्थित बनेको छ । अहिले देउरालीका विभिन्न वडाहरु पानीको अभाव देखिन थालेको छ । उनी भन्छन्, ‘अहिलेको खानेपानी वितरण हेर्दा दुःख लाग्छ, खानेपानीको समस्याले दुखी बनाएको छ ।’
उनी थप्छन्, ‘मैले कार्यकाल शुरु गर्दा देउराली, देवीगाँउका स्थानीय खानेपानीको पाइप भए पनि पानी लिन डोको बोकेर ठिङ्गाबारी, खैरेनी, पानबारी देखी धरान–१५ का विभिन्न ठाउँमा पुग्ने गर्थे तर म आइसकेपछि आफ्नै धारामा पर्याप्त मात्रामा पानी आउने वातावरण बनाए अहिले पुरानै अवस्था दोहोरिएको छ । देउरालीबासीले पर्याप्त मात्रामा पानी पाएका छैनन् ।’
स्थानीय तहमा नेपाली कांग्रेसको जनप्रतिनिधि आएपछि अव्यवस्थित हुन थालेको उनी बताउँछन् । विभिन्न संघ–संस्थाबाट सहयोग लिएरै भएपनि खानेपानीको उचित व्यवस्थापन गरेको बताउँदै उनले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि खानेपानीमा समस्या देखिनु दुर्भाग्य हो ।’
लिम्बू अध्यक्ष भएको समयमा जनघनत्व बढ्दै गर्दा पानीको थप आवश्यकता पर्छ भनेर विभिन्न योजनाहरू अघि सारेको थिए । कम्तीमा दैनिक २ घण्टा पानी खुवाउने योजना थियो । तर योजना पूरा हुन नपाउँदै उनको कार्यकाल सकियो । उनको कार्यकालमा देउरालीमा खानेपानी डिभिजन, उपमहानगर र प्लान नेपालको लगानीमा ७६ लाखको योजना बनाएर देउरालीमा दैनिक २ घण्टा खुवाउने योजना बनाएको भएपनि समय अभावका कारण त्यो काम गर्न नसकेको उनी बताउँछन् ।
उनै लिम्बू अहिले नेकपा एमालेका तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका छन् । वडा नम्बर ५ को प्रमुख समस्याको रुपमा रहेको खानेपानी वितरण व्यवस्थापन नै पहिलो प्राथमिकतामा राखेका छन् । धरान–५ भरी देखिएको खानेपानीको समस्यालाई स्थानीय जनप्रतिनिधिको हैसियतले समन्वयनकारी भूमिका निर्वाह गर्दै, संघ, प्रदेश, नगर सरकार र दातृ संस्थाहरूको सहयोगमा जनसहभागितालाई परिचालन समाधान गर्ने उनको योजना छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसको तर्फबाट सन्तोष लिम्बू वडाअध्यक्षमा सन्तोष लिम्बू निर्वाचित भएका थिए । उनले देउरालीको खानेपानी समस्या समाधान गर्न कुनैपनि पहल गरेनन् । जसले गर्दा अहिले दुईदिनमा एकघण्टा पानी विरतण गर्नुपर्ने बाध्यता छ । लिम्बू भन्छन्, ‘अहिले देउराली मात्र होइन ५ नम्बर वडाभरी खानेपानीको समस्या छ, बर्खामा त झन हाहाकार नै हुन्छ, खानेपानीमा अघिल्लो जनप्रतिनिधिको भूमिका शुन्य नै थियो, खानेपानीको क्षेत्रमा वडागत बजेट छैन भन्दा पनि हुन्छ, वडा आफैले खानेपानीको समस्या समाधान गर्न सक्दैन त्यो सत्य हो तर नगरमा माग्न सक्छ, प्रदेशमा माग्न सक्छ, केन्द्रमा, मन्त्रालय छ । त्यतातिर कुनै पहल भएन ।’
उनले आफू वडाध्यक्ष भएर आए देउराली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा रहेर काम गरेको अनुभवलाई प्रयोग गर्दै धरान–५ भरी नै खानेपानीको अवस्थामा व्यापक सुधार गर्ने बताउँछन् । समितिले अहिले २ दिनमा एक पटक मात्र पानी वितरण गर्दै आएको छ । धारामा पानी आएको समयमा पनि सानो आउने, पर्याप्त मात्रामा नआउने भएकाले ट्याङ्करमा किनेर खानुपर्ने बाध्यता रहेको तल्लो देउरालीका खिलमान खजुम बताउँछन् । उनी भन्छन्, ‘धारामा पानी नै चुहिँदैन किनेर खानुपर्ने अवस्था छ, होटल, व्यवसाय गर्ने त अवस्था नै छैन ।’