Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वाउ ! गुराँसको राजधानी

हाम्रो कोशी आवाज
बैशाख १८ २०७९, आइतबार
वाउ ! गुराँसको राजधानी

धरानः ‘वाउ गुराँसको राजधानी आइपुगियो, वाउ कति राम्रो गुराँसको सौन्दर्य’, धरान मेघा–हिमालयन कलेजबाट पुगेकी कक्षा–११ की छात्रा मुस्कान राना मगरले भनिन्, ‘जे होस् गुराँसबारे देखेको, सुनेको थिएँ, प्रत्यक्ष अवलोकन गर्दा औधी खुशी र उत्साहित छु ।’
शनिबार कलेजका कक्षा–११ मा पढ्ने करिब डेढ सय विद्यार्थी गुराँसको राजधानी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमामा रहेको पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टीएमजे) पुगेका हुन् ।
छात्रा विनिशा खड्काले गुराँसको राजधानीमा प्रत्यक्ष गुराँस फुलेको देख्न पाउँदा छुट्टै आनन्द मिलेको बताइन् । कलेजका छात्र निखिल भट्टराईले ‘प्रोजेक्ट वर्क’ साथै शैक्षिक भ्रमण कार्यक्रम फलदायी भएको बताए ।
विद्यार्थीको लागि शैक्षिक भ्रमण र अध्ययन अवलोकनका लागि तीनजुरे, हिंवा वाइन बनाउने उद्योग मकालु वाइन इण्डष्ट्रिज प्रालिलगायतको भ्रमणका लागि विद्यार्थी लगिएको म्यानेजमेण्ट र बिबिएस कोअर्डिनेटर चन्द्र वनेमले जानकारी दिए । ‘विद्यार्थीको लागि प्रोजेक्ट वर्क साथै शैक्षिक भ्रमणको कार्यक्रम राखेका थियौं’, उनले भने, ‘सामाजिक, अर्थशास्त्र, लेखा विषयको लागि प्रोजेक्ट वर्क थियो ।’
विद्यार्थीले पाथिभरा मन्दिर, गुराँस लिएर साथै गुराँसको फेदमुनी बसेर तस्वीर खिचाएर रमाएका थिए । शैक्षिक भ्रमण कार्यक्रममा कलेजका अध्यक्ष कैलाश लिम्बू, कलेजका प्राचार्य भाष्कर पौडेल, सञ्चालक दीपक घिमिरे, कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, अध्यापकहरु मोहम्मद सदाप आलम, विशाल राई, निरज कार्की, लेखा शाखाका दीपेन्द्र यादव लगायतको उपस्थिति थियो ।
अहिले तीनजुरे–मिल्के–जलजल क्षेत्रको पर्यटकहरुको ओहोरदोर छ । गुराँस फुल्ने सिजनदेखि गुराँस नसकिएसम्म आन्तरिक पर्यटकको ओइरो लाग्ने गरेको लाली गुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङले जानकारी दिए । फागुन, चैत र वैशाख क्षेत्रमा यतिबेला पर्यटक भित्रिने सिजन हो । गुराँस फुल्ने सिजनमा करिब ५० हजार पर्यटक भित्रिएको टीएमजे पर्यटन समितिका अध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए । दैनिक २ सयदेखि ५ सयको हाराहारीमा पर्यटकहरू घुमफिर गर्न र गुराँस हेर्न आउने गरेको उनले जानकारी दिए । ‘पर्यटनले धानेको हाम्रो व्यवसाय यस वर्ष खुब फस्टायो’, उनले भने ।
तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र तीन जिल्ला गरी जम्मा ५ सय ८५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारले वि.स.२०५५ मा यस क्षेत्रलाई राष्ट्रिय गुराँस संरक्षित क्षेत्रको रूपमा घोषणा गरेको थियो । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्रको मुख्य आकर्षण भनेको विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस एकै ठाउँमा पाइनु हो ।
गुफाबजार, मंगलबारे, चौकी, जोरपोखरी, सुकेबजार र यहाँ आसपासको लेकाली क्षेत्रको जनजीवनले बाहिरबाट आइपुग्नेहरुका लागि थप आकर्षण हुन् । अहिले तेह्रथुमको बसन्तपुर हुँदै गुफापोखरीसम्मै यातायातको सुविधा छ ।
आकाश खुल्दा वरिपरि हेर्न पाइन्छ । भने क्षणभरमै फेरि आकाशमा बादल छाउँछ । आकाश ढाकेको बादल हट्न फेरि धेरै बेर लाग्दैन । टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तु लगायतको संरक्षण गर्न स्थानीय स्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन छ । टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुर लगायत जडीबुटीहरु पाइने गरेका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख १८ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend