Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हर्क साम्पाङको क्रेज

हाम्रो कोशी आवाज
बैशाख २० २०७९, मंगलबार
धरानमा हर्क साम्पाङको क्रेज

धरानः धरानमा हर्क साम्पाङ एक्लो व्यक्ति हुन् जसले स्वतन्त्र भएर धेरैलाई आफ्नो समर्थकका रुपमा उभ्याउँदै लगेका छन् । केही वर्षअघि धरानमा भएको उपनिर्वाचनमा पनि स्वतन्त्रबाट उठेका उनले २०७९ सालको स्थानीय तहको निर्वाचनमा तहल्का मच्चाउँदै आएका छन् । उनको अहिले धरानमा चर्चासँगै क्रेज पनि बढेको देखिँदै गएको छ ।
धरानमा लोकतान्त्रिक–बाम गठबन्धन र एक्लै प्रतिस्पर्धामा रहेको एमालेबीच चुनावी प्रतिस्पर्धाको आँकलन भइरहँदा उनको चर्चा झनै बढेर गएको छ । धरानमा दलहरुको भीडमा साम्पाङको चर्चा र क्रेज उत्तिकै देखिँदै गएको धरान–१२ की सम्झना राईले बताइन् । ‘खासमा जल्दाबल्दा सामाजिक विषयवस्तु उठान गर्नसक्ने क्षमता भएका साम्पाङको चर्चा छ’, उनले भनिन्, ‘यसरी नै जनलहर बढ्दै जाने हो भने दलहरुलाई निकै अप्ठयारो पर्छ ।’
खानेपानीको हिसाब माग्दै धरान उपमहानगरपालिकाअगाडि झुरुम्म जम्मा भइहाल्ने साम्पाङले धरानमा आयोजनाबाट जोडिएको धारामा हावा बढी पानी कम आउने, कतिपय ठाउँमा पानी आउँदै नआउने, पानी नआएपनि बिल दुवैतर्फबाट आउने तर हिसाबकिताब नपाएको भन्दै कुर्लिएदेखि हालसम्म पनि उनले मुद्दा नछोडेकोले यो मुद्दालाई धराने जनताले मन पराएको उनले बताइन् ।
‘एशियाली विकास बैंकले ऋण अनुदान दिएपछि धरान उपमहानगरपालिकाले धेरै वर्षअगाडि चारकोसे जंगलबाट डीप बोरिङ गरी खानेपानी आयोजनाको काम शुरु गरेको थियो । लामो समयदेखि पानीको समस्या भोग्दै आएको धरानमा एडिबीको पानी आउने भएपछि धरानवासीमा पानीको समस्या समाधान हुने आशा पलाएको थियो तर यो निराशामा परिणत छ’, साम्पाङ भन्छन्, ‘त्यही कारण मेरो एजेन्डा धरानमा पानी ल्याउने, बीपी प्रतिष्ठान जोगाउने आफ्नो चुनावी मुद्दा भएकोले आफूले चुनाव जित्नेमा ढुक्क छु ।’ पानी खुवाउँछौं भनेर बाचा गरेका दलहरू अहिले एकआपासमा दोषारोपण गर्दै पन्छिन थालिसकेकोको उनले बताए ।
महङ्गो शुल्क तिरेरपनि खानेपानी नपाउँदा धरानबासी जनप्रतिनिधिसँग रुष्ट छन् । ‘मैले त अभिव्यक्ति नै दिँदै आएको छु’, उनी भन्छन्, ‘खानेपानी खुवाउन नसके धरान नै छाडेर हिँड्छु भने ।’ उनले एडीवीको खानेपानी असफल भएको बताउँदै अब सप्तकोशीको पानी ल्याएर खुवाउने बताउँदै आएका छन् ।
साम्पाङ ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्रबाट धरानको मेयरमा उम्मेदवारी दिएर चुनाव चिहन लौरो लिएर धराने जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् । उनकै समूहबाट धरान–१५ का दत्तकुमार लिम्बूले उपमेयरमा उम्मेदवार छन् भने ७ वटा वडामा वडाध्यक्ष छन् ।
उनले के एजेन्डा लिएर भोट मागिरहेका छन् ?
उनले अपिल तथा प्रतिबद्धता बाँड्दै हिँडेका छन् । अपिल तथा प्रतिबद्धतामा लेखिएको छ– आजसम्म जनताको दुःख र पीडाको आवाज बोलेर हिँडे, अब मलाई जनताको आँशु पुछ्ने र घाउमा मल्हम लगाउने ठाउँमा पुरयाइदिन मेरो सादर अनुरोध ।
उनले आफू धरानको नगर प्रमुख बनेका व्याप्त भ्रष्टाचार, बेथिति, अन्याय, अत्याचारको अन्त्य गर्ने दावी गर्दै भोट मागिरहेका छन् । उनले घोषणापत्र र प्रतिबद्धतापत्रमा भनेका छन्, ‘तपाईहरुकै चाहना र आवश्यकअनुरुप सुशासन र विकासका नीति तथा योजना बनाएर धरानको सर्वोपरी उन्नति गर्न गराउन चाहन्छु ।’
उनले खानेपानीको तत्काल सुधार, अनाहकमा हजारौं रुपैयाँ बिल लगाउने चलनको अन्त्य, बीपी प्रतिष्ठानको ब्यापक सुधार, सामुदायिक स्कुल र विद्यालयमा सुधार, धरानमा उद्योग खोलेर रोजगारी, सूचनाको अधिकार, प्रशासनिक सेवामा सुधार, शान्ति सुरक्षा, महिला र बालबालिकामा ध्यान, सडक मानव व्यवस्थापन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापन, महङ्गी नियन्त्रण, यातायात क्षेत्रमा सुधार, पर्यटन क्षेत्रमा सुधार, वैज्ञानिक कर प्रणालीमा सुधार्नेलगायत २७ बुँदे प्रतिबद्धता जनाएका छन् ।
उनले दलहरुबाट सेउती, सर्दु दोहन भइरहेको बताउँदै आएका छन् । वर्ष दिनअघि साम्पाङले यसकै विरोध गर्दा प्रहरीको निशानामा परेका थिए ।
‘४० हजार मत ल्याउँछु’
आफूले मतदातालाई कुनैपनि सपना नबाँड्ने तर भ्रष्टाचारको विरोध गरिरहने साथै खानेपानीको समस्याको समाधान र बीपी प्रतिष्ठानको सुधारमा लागि कटिबद्ध भएर लाग्ने भनेर भोट मागिरहेको उनी बताउँछन् ।
अघिल्लो चुनावभन्दा आफू निकै अगाडि र सक्रिय रहेको उनले दावी गरे । ‘यसपटक म प्रति धराने जनताले सदासयता देखाइदिनुभएको छ, धन्यवाद, चालिस हजार मत ल्याउँछु’, उनले दावीका साथ भने । धरानका २० वटै वडाहरुमा हिँड्दा जनलहर पाएको र सामाजिक सञ्जालमा दिइएका अभिव्यक्ति हेर्दा आफूले चुनाव जित्ने उनको दावी छ ।
लौरोले हिर्काउँदा कसलाई क्षति ?
धरान जहिल्यै विकल्प खोज्ने भइसकेको छ । २०७४ मा विकल्प नखोजेको धरानले उपनिर्वाचनदेखि विकल्प खोज्न थालेको जानकारहरु बताउँछन् । ‘यो चुनावमा धरानबासीले विकल्प खोजेका छन्’, उनले भने, ‘यदि विकल्प नै खोजेका हुन् भने साम्पाङभन्दा उपयुक्त पात्रपनि छैनन् ।’ उनले चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै आएका छन् ।
चुनाव जित्ने साम्पाङको दावी र जनलहरको आकर्षणले उनी दलहरुका लागि ‘गलपासो’ बनेको मतदाता नै बताउँछन् । ‘चुनाव जित्ने दावी गरिहँदा र जनलहर बढिरहँदा ठूला दलहरुको लागि भने उनी ‘गलपासो’ बनिरहेका छन्’, धरानका मतदाता सुरेश श्रेष्ठ भन्छन्, ‘यसले दलले विकास गर्न नसकेको भनेर विकल्प खोजिएको र दलहरुलाई पनि ‘सबक’ सिकाएको प्रष्ट देखिन्छ ।’
धरान उमहानगरपालिकामा २०७४ सालमा ५३ हजार ८१२ मतदाता रहेकोमा यसपटक १ लाख ३२४ मतदाता पुगेका छन् ।

साम्पाङले स्वतन्त्रबाटै ७ वटा वडामा वडाध्यक्ष उठाएका छन् । नयाँ मतदाता विशेषतः साम्पाङको पक्षमा लाग्न सक्ने देखिएको जानकारहरु बताउँछन् । ‘कम्युनिस्ट टुक्रेको, कांग्रेसमा घात हुने अवस्था आएकोले पनि मेरो पक्षमा करिब २५ हजार नयाँ मतदाता मेरो पक्षमा आउन सक्छन्’, साम्पाङको आफ्नै क्याल्कुलेसन छ, ‘कांग्रेस, कम्युनिष्ट वा अन्य पार्टीमा रिसाएका १५ हजार मतदाताले मलाई नै भोट खसाल्छन् ।’
सहप्राध्यापक साम्पाङको जनलहर देखिएको र दलहरुलाई केही अप्ठयारो पर्ने विश्लेषण आफूले पनि गर्दै आएको बताए । तर समूह नभएकोले उनलाई नै निकै साह्रो पर्ने उनी विश्लेषण गर्छन् । ‘धरानेले साम्पाङजस्तै व्यक्ति आउनुपर्छ भनिरहेको पक्का हो, जनलहर पनि देखिएको छ, धराने मतदाताले विकल्प चाहेका पनि हुन् तर के गर्नु उनको समूह छैन’, उनले थपे, ‘उनले मत ल्याउँछन्, कांग्रेस, कम्युनिष्टको भोट ‘स्टक’ जस्तै छ, उनीहरु एकछापे हुँदा उनलाई निकै साह्रोचाहिँ पर्ने हो ।’
प्रा.डा. टङ्क न्यौपाने धरानमा एमाले र गठबन्धनबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको बताउँछन् । ‘भन्नुपर्दा धरानमा दलहरुप्रति वितृष्णाचाहिँ बढेकै हो,’ उनले भने, ‘तरपनि खासमा धरानमा कांग्रेससहितको गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिसकें ।’

तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख २० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend