धरानः धरानको चारकोशे जंगलमा रहेको खानेपानी उत्पादन गर्ने दुईवटा पम्पिङ वेल बिग्रिएको कारण पानी उत्पादनमा समस्या भएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार चारकोशे जंगलमा रहेको वेल नं. ४ र ७ बिग्रिएको छ । सो क्षेत्रमा तत्कालीन खानेपानी संस्थानको चार वटा वेल हाउस छन् । वेल हाउसको संरचनाहरु जीर्ण रहेको उनले बताए । ‘चार वटा मध्ये दुईवटा वेल हाउस बिग्रेको थियो । वेल नं. ४ को मर्मत कार्य सम्पन्न भइसकेको र वेल नं. ७ को मर्मत कार्य निरन्तर रुपमा भइरहेको छ’, उनले भने, ‘बुस्टिङ गर्ने बुस्टर पम्प बिग्रिएको कारणले पनि खानेपानी उत्पादनमा समस्या भएको हो । वेल नं. ७ को मर्मत कार्य सम्पन्न भएपछि बुस्टर पम्पको पनि मर्मत गरिनेछ ।’
विगत एक साता अघिदेखि पुरानो संरचनाको पम्पिङ वेल नं. ४ र ७ को पम्प बिग्रेको र नयाँ संरचनाको एउटा बुस्टर पम्प बिग्रेको कारण उत्पादनमा कमी भई वितरणमा समस्या भएको उनको भनाइ छ । उनले मर्मत कार्य निरन्तर रुपमा भइरहेको र चाँडै मर्मत गरेर उपभोक्ताहरुमा सहज ढंगबाट खानेपानी वितरण गरिने जानकारी उनले दिए । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राईले मङ्गलबार राति बिग्रिएको वेल हाउस र बुस्टरको अनुगमण गरेका थिए । अनुगमनका क्रममा मेयर राईले चाँडै मर्मत कार्य सम्पन्न गर्न समेत निर्देशन दिए ।