Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका तुलाधरको पुस्तक ‘संक्षिप्त बहुभाषिक संवाद संग्रह’ को विमोचन

हाम्रो कोशी आवाज
बैशाख २१ २०७९, बुधबार
धरानका तुलाधरको पुस्तक ‘संक्षिप्त बहुभाषिक संवाद संग्रह’ को विमोचन

धरानः धरान–१९ निवासी ज्ञानोदय बोर्डिङ स्कूल धरानका शेयर होल्डर एवं शिक्षक प्रेम तुलाधरले आफ्नै लगानीमा लेखन र संकलन गरी प्रकाशन गरेको पुस्तक ‘संक्षिप्त बहुभाषिक संवाद संग्रह’ झींगु समाज, धरान–३ को सभाहलमा श्रम दिवसको अवसर पारेर आइतबार विमोचन भयो ।
कार्यक्रमका प्रमुख अतिथी भाषाविद प्रा.डा.टंक न्यौपानेले विमोचन गरेको सो पुस्तकमा पाँचवटा भाषा नेवारी, बान्तवा राई, मगर, तामाङ र लिम्बू भाषाका संवादहरु समेटिएका छन् ।
मौलिक भाषा बोल्न, सिक्न हराउँदै गएको आजको परिप्रेक्षमा तुलाधरले भाषा बचाउन इतिहास रच्दै एउटै पुस्तकमा पाँच भाषाको सम्बाद प्रकाशन गर्नु अति नै प्रशंसनीय रहेको भाषाविद् न्यौपानेले बताए ।
पुस्तकको समीक्षा गर्दै प्रा.डा. गोपालप्रसाद भण्डारीले पुस्तकमा अति सामान्य ब्याकरणीय त्रुटीहरु भएतापनि नेपाली देवनागरी भाषामा भाषिक सम्बाद संग्रह गरी नेपाली मौलिक भाषाको उत्थान भएको र सो पुस्तक पढेपछि कोहीपनि सम्बन्धित भाषामा आफ्रू अनभिज्ञ छु भन्नुपर्ने अवस्था नरहने बताए ।
त्यस्तै, बरगाछी महिला संघ तथा थर्पु गुठीका अध्यक्ष चन्द्रकला प्रधानले तुलाधरले आफू नेवार भएर नेवारी भाषाको मात्र उत्थानमा अघि बढ्नुपर्नेमा अन्य भाषाको विकासलाई पनि प्राथमिकता दिनु उहाँको महान सोचको सबैले सम्मान गर्नुपर्ने र प्रेरणा दिनुपर्ने बताए ।
स्वलगानीमा वार्षिकरुपमा कविता प्रतियोगिता आयोजना गर्दै आएका तथा अनवरत रुपमा पुस्तकालय खोली संचालन गरेका धरान–१८ का पूर्णबहादुर गुरुङलाई पुस्तक विमोचनको अवसरमा तुलाधरले प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
ज्ञानोदय स्कुलका सहायक प्रधानाध्यापक खेमराज श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा प्रकाशक तुलाधरले प्रमुख अतिथि न्यौपाने र समालोचक भण्डारीलाई आफ्नो पुस्तक नै मायाको चिनोको रुपमा प्रदान गर्दै मौलिक भाषा सबैको साझा सम्पत्ति भएकोले यसको प्रयोग र संरक्षणार्थ निकै मिहिनेत साथ पुस्तक प्रकाशन गरेको बताए ।

प्रकाशित मिति: बैशाख २१ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend