Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ का उम्मेदवारको बाचाः प्रहरी चौकी स्थापनादेखि घरघरमै वृद्धभत्ता लगिदिनेसम्म

हाम्रो कोशी आवाज
बैशाख २२ २०७९, बिहिबार
धरान-१६ का उम्मेदवारको बाचाः प्रहरी चौकी स्थापनादेखि घरघरमै वृद्धभत्ता लगिदिनेसम्म

धरानः नेकपा एमालेले धरान १६ नं वडामा युवापुस्ताको रुपमा उदय भइरहेका हिमाल कार्कीलाई वडाध्यक्षको रुपमा अगाडि सारेको छ ।
प्रदेश नं १ कै पहाडी भेगमा रहेको ओखलढुङ्गा जिल्ला हालको सिद्धिचरण नगरपालिका १ मा जन्मिएका उनी ०५२ सालदेखि धरानमा स्थायीरुपमा बसोबास गर्दै आएका छन् । ०५४ सालदेखि विद्यार्थी राजनीति क्षेत्रमा अगाडि बढेका कार्की हाल नेकपा एमालेको तर्फबाट धरान उमहानगरपालिका १६ नं वडाको वडाध्यक्षका उम्मेद्वार छन् ।
प्रमाणपत्र तहसम्म अध्ययन गरेका कार्कीको राजनीतिमा लाग्नुको प्रमुख कारण उनको गुरु हुन् जो केदार बस्नेत सिद्धिचरण नगरपालिकाका उपमेयरका उम्मेद्वार समेत रहेका छन् । उनी माध्यमिक तहको अध्ययन गरेको हिमालयन माध्यमिक विद्यालयमा अल्जेब्रा विषय पढाउने गुरुकै कारण सक्रिय राजनीतिमा लागेको बताउँछन् ।
वामपन्थी विचारधारा माक्र्सवाद लेनिनवादबाट प्रभावित भएर समाज रुपान्तरण गर्ने, विकृति, विसंगति हटाउने अठोटसहित राजनीतिमा लागेको उनी बताउँछन् । जसको नीति उसैको नेतृत्व भनेझैं जसले समाजमा परिवर्तन गर्छु भन्ने सोच्छ ऊ आफै अगाडि नबढी समाजमा न्याय दिलाउन नसक्ने बताउँदै समाजमा न्यायको अनुभूति दिलाउन राजनीतिमा सक्रिय रहेको उनी बताउँछन् ।

वडाका समस्या
आफ्नो मात्र वडामा नभएर समग्र धरानमा उनी खानेपानीको समस्या रहेको बताउँछन् । सर्दुखोलामा उचित ब्यवस्थापन गर्न नसक्दा त्यहाँ रहेका वडाबासीहरुले वर्षेनी समस्या भोग्दै आएका छन् । सर्दुखोलाका आसपासमा रहेका बस्तीमा बसोबास गर्ने मानिसहरु वर्षाको समयमा रातभरी नसुती जागै बस्नुपरेको विषयमा आफू जानकार रहेको उनी बताउँछन् ।
त्यस्तै १६ नं वडामा मात्र नभई समग्र धरानमा युवाहरु दुर्यव्सनमा फस्ने लागूपदार्थहरु सेवन गर्ने बेरोजगारीको समस्या रहेको बताउँछन् । १६ न.ं वडा घना वस्ती रहेको वडा भएको बताउँदै उनले यहाँ प्रहरीचौकी नहुँदा शान्ति सुरक्षाको हिसाबले चुनौती रहेको छ । अति न्यून आय भएका मानिसहरुको पनि बसोबास यस वडामा रहेकाले उनीहरुको स्वास्थ उपचारदेखि खाद्यान्नको समेत जोहो गर्न नसक्ने गरिब असहायहरु छन् ।
के छन् त उनका योजनाहरु ?
उनी कुनै ठूला सपना बाँड्ने पक्षमा छैनन् । जनताको सामान्य आधारभूत समस्या समाधान गर्ने योजना छ । खानेपानीको समस्या समाधानका लागि निर्वाचित भएर आएसँगै सरोकारवाला निकायहरुसँग समन्वय गरेर आवश्यक कदम उठाएर चाँडो भन्दा चाँडो खानेपानीको समस्या समाधान गर्न आफू लाग्ने उनी बताउँछन् । खोला किनारमा रहेका बस्तीहरुलाई वर्षायाममा हुने क्षति न्यूनीकरण गर्न पक्की ड्याम निर्माण गर्ने, युवाहरुलाई कुलतमा फँस्न नदिन उनीहरुलाई मस्तिष्कमा त्यस्ता कुराहरुको सोच आउन नदिन रोजगारीको सिर्जना गर्ने योजना रहेको रहेका छ । फुर्सदिलो समयमा मानिसको मस्तिष्कमा त्यस्ता खालको नकारात्मक कुराहरु आउने बताउँदै युवाहरुलाई त्यस्ता कुराबाट टाढै राख्न खेलकुदको क्षेत्रमा, शिक्षा क्षेत्रको आवश्यक पूर्वाधार निमार्ण वडामा गरी युवाहरुलाई त्यस्ता कुराबाट टाढा राख्न सकिने उनको भनाइ छ ।

जनघनत्वका हिसाब १६ नं वडाको जनसंख्या अन्य वडाहरुको तुलनामा धेरै रहेको बताउँदै शान्ति सुरक्षाको कायम गर्न यहाँ एउटा प्रहरी चौकी आवश्यक रहेको उनी बताउँछन् । निर्वाचित भएर आए लगत्तै प्रहरी चौकी निमार्णका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ । वडामा रहेका अति विपन्न परिवालाई यसअघिको दिलकुमार गिरीको कार्यकालको लोकप्रिय काम जुन गरिब न्यून आय भएकाहरुलाई रासन कार्ड बाँड्ने काम भएको थियो त्यसलाई थप व्यवस्थित र वृद्धि गरी सञ्चालनमा निरन्तरता दिने उनको प्रतिबद्धता छ । वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने उनले बताए ।
त्यस्तै, १६ नं वडामै रहेको प्रादेशिकस्तरको रंगशालालाई थप व्यवस्थित बनाउने उनको सोच रहेको छ । वडाको बजेटले मात्र त्यो सम्भव नरहने बताउँदै प्रदेश, संघको समन्वयमा मेघा प्रोजेक्टको रुपमा त्यसको स्तरीकरण गर्ने उनले बताए । उनी अन्य वडाध्यक्षका उम्मेद्वार भन्दा केही फरक पृथक सोचाइका छन् । उनी चिल्ला सडक, ठूला ठूला भौतिक निमार्णलाई मात्र विकास मान्न तयार छैनन् ।

तारा सुब्बा स्मृति पार्कको कामलाई सम्पन्न गरी त्यसलाई अन्तरिक पर्यटनको केन्द्रविन्दु बनाउने, सुगर–प्रेसर बिरामीका लागि निःशुल्क औषधी वितरण, वडाका निमार्णाधीन सडकहरुलाई निर्माण सम्पन्न गरी आगामी ५ वर्षभित्र वडालाई कच्ची सडकमुक्त बनाउने, सामाजिक सुरक्षा भत्ता लिन वृद्धवृद्धाहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै त्यसलाई व्यवस्थित बनाइ घरघरमै पुरयाउने पहल गरिनेसम्मका लोकप्रिय कामहरु उनले अघि सारेका छन् ।
हाम्रो यसअघिको वडा सरकारले गरेको कामको प्रचार कम भएको बताउँदै विपक्षी मित्रहरुले गरेको कुराहरु सबै झुठो भएको उनले बताए । यसअघि दिलकुमार गिरीको कार्यकालमा भएका विकास निर्माणका प्रगति विवरणसहित घरदैलो कार्यक्रममा भएकाले आफ्नो जीत सुनिश्चत भएको उनी दावी गर्छन् ।
अघिल्लो वडा सरकारले १० किमी सडक कालोपत्रे, ६ किमी ड्रेन एजिङ वाल निर्माण सम्पन्न गरिसकेको छ । जनता यी कामबाट खुुसी भएका बताउँदै बाँकी कामहरु पूरा गर्न आफूू नेतृत्वमा आउन चाहेको उनले बताए । २०७४ सालको भन्दा बढी मतान्तरले आफ्नो टिम विजयी हुने र जनताको काममा लाग्ने उनले बताए ।
१६ नं. वडामा मतदाता संख्या ८ हजार ४८ रहेको छ । १४ हजार जनसंख्या रहेको छ ।

प्रकाशित मिति: बैशाख २२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend