Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पनि ओलीले जोडे उखानतुक्का

हाम्रो कोशी आवाज
बैशाख २४ २०७९, शनिबार
धरानमा पनि ओलीले जोडे उखानतुक्का

धरानः आफ्ना हरेक भाषणमा केही न केही उखान तथा टुक्का घुसाउन माहिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो यो शैलीलाई रुचाएकै कारण पनि होला हरेक भाषणमा केही न केही उखान टुक्का राख्न भुल्दैनन् । धरानमा पनि भयो त्यस्तै ।
कडा, छुच्चो र उखान टुक्का प्रयोग गरेर जनताको मन जित्दै आएका ओलीले धरानमा उखानतुक्का जोडे नै । उनको उखानतुक्कालाई बेतुके उखानतुक्का भन्नेहरुको पनि कमी छैन । उखानतुक्का भनेर हँसाउने गरेका ओलीको बोलीमा सत्यता नभएको भनी आलोचना हुँदै पनि आएको छ तर त्यही उखानतुक्का सुन्नुपर्छ भनेर भानुचोक पुग्नेहरुको पनि कमी थिएन ।
धरानमा आउँदो ३० गते हुने स्थानीय तहको चुनावी सभामा सम्बोधन गर्न आइपुगेका एमालेका अध्यक्ष ओलीले केही उखानतुक्काले भएपनि जनता उरालेका छन् । कार्यक्रममा कार्यकर्ताले भाषण गरिरहँदा आइलभ यु र भाषण सक्दा वान्समोर ओली बा सम्म भन्न भ्याए ।
उनले उखानतुक्कासँगै सरकारको चर्को आलोचना समेत गरे ।
उनले गठबन्धन सरकार टालाटुली बटुली पाराको रहेको बताए । ‘इटहरीमा मैले भनेको थिएँ, टालाटुली बटुली कति राम्री पुतली भनेर, गठबन्धन सरकार, जोडजाम गरेर, टाला जोडेर बनाइएको हो, कोही घरबाट भागेका, कोही घरबाट सामान लिएर भागेका, कोही घरमा आगो लगाएर भागेका, फरार रहेका रहेका भनौं, कोही ओह्रालो लागेकाहरु भेला भएका छन्’, उनले भने ।
उनले राष्ट्रियताको सवालमा एउटा शब्द पनि बोल्न नसक्नेले देशको विकास गर्न नसक्ने बताए । उनले गठबन्धनले पाँचवटा मुसा लिएर हिँडेको समेत बताए । ‘यस्ता पाँचवटा मुसा लिएर हिँड्ने अनि केहीको शिकार हुन्छ ।’

उनले काठमाडौंमा आयोजित गठबन्धन चुनावी सभाको भाषणप्रति इङ्गीत गर्दै भने, ‘मेरी छोरी जिताउँदैनन् भने दुर्घटना हुन्छ ।’ उनले कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाले गठबन्धनको चुनावी सभामा कमजोर भाषण गरेको भन्दै हँसाए । ‘उहाँले छोरी उठाउनै खोजेको होइन, मैले उठाउनु भनेर पो उठाएको छ’, उनले भने, ‘सुन्नुहोस् त भाषण, प्रचण्डले त्यति भन्दिएको शेरबहादुर थररर ।’
उनले चितवनमा जनता थर्काउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माकाफुई (बाँदरे घुर्की लगाउने) भएको आरोप लगाएका छन् । चितवनमा छोरी रेणु दाहाललाई भोट नदिए देशमा जे पनि हुने र ठुलो दुर्घटना हुन्छ भनेर जनता थर्काएर प्रचण्डले माकाफुई प्रवृत्ति देखाएको उनको भनाइ छ । ‘प्रचण्डको घुर्की त्यस्तै हो, नेवारी भाषामा एउटा माकाफुइँ भन्ने शब्द छ, मैले पोहोरपरार काठमाडौंमा पनि भनेको थिएँ यो शब्द माकाफुइँ भनेको बाँदर रुखमा चढ्छ, डराएपछि सानो हाँगोमा आएर हाँगो हल्लाउँछ बेस्सरी अनि कारकारकुरकुर गर्छ, मान्छेलाई तर्साउन खोज्छ, हाँगो हल्लाएर तर्साउन खोज्छ, चितवनमा गएर प्रचण्डले तर्साएको पनि, त्यो हाँगो हल्लाउन खोजेको माकाफुइँमात्रै हो ।’

उनले माकाफुइँहरुले देशका निम्ति केही नगर्ने बताए । ‘यी माकाफुइँले देश बनाउनेवाला छैनन्, भोट मागेको सुन्नुभएन, चितवनका जनताले मेरी छोरी जिताएनन् भने देशमा दुर्घटना हुन्छ अरे’, उनले थपे, ‘के, कस्तो दुर्घटना हुन्छ ।’ उनले प्रचण्ड मुसोजस्तो भएर कांग्रेसको पछि हिँड्दै गरेको आरोप समेत लगाए ।
उनले वृद्धवृद्धदेखि बालबालिकासम्मले एमाले र केपी ओलीलाई मन पराउने गरेको दावी गरे । उनले केपी ओलीको लोकप्रियताका कारण वृद्धदेखि बालकसम्मले आफूलाई आई लभ यू भन्न थालेको बताए । ‘घरमा गएर सोध्नुहोस् त भोट के मा भनेर’, उनले थपे, ‘अझ तपाईका सानासाना बालबालिकालाई सोध्नुहोस् त, बाबु, नानु भोट के मा भनेर, त्यही बच्चालाई आइलभ यु भन्नुहोस् त, उसले भन्छ केपी बा ।’ ओलीले मिठा मिठा कुरामात्र गर्ने तर काम भने नमिठा गर्ने गरेको आरोप लाग्दै आएको छ । उखानतुक्का भनेर हसाउने गरेका ओलीको बोलीमा सत्यता नभएको भनी आलोचना हुनुमा उनले यसअघिका चुनावका बेलामा गरेका भाषणहरु तथा त्यसपछि पनि बाँडेका आश्वासनहरु छेकछनक नदेखिएपछि त्यस्तो अवस्था आएको कांग्रेसलगायतका दलहरुको आरोप छ ।

प्रकाशित मिति: बैशाख २४ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend