धरानः धरानका वरिष्ठ पत्रकार तथा हाम्रो कोशी आवाज डटकमका सल्लाहकार हर्ष सुब्बा वरिष्ठ पत्रकार सम्मान २०७८ बाट पुरस्कृत भएका छन् ।
विसं ०७६ र ०७७ को पुरस्कार उनलाई प्रदान गरिएको हो । सम्मानित पत्रकार सुब्बा यसअघि कान्तिपुर दैनिकमा कार्यरत् थिए भने अहिले पनि धरानमा बसेर समाचारको खेती गरिरहेका छन् ।
यस्तै, धरानबाट प्रकाशित विजयपुर साप्ताहिक धरानकी सम्पादक÷प्रकाशक गंगा पौडेल बराललाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन् । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच उनीहरुलाई पुरस्कृत गरेकी हुन् ।
सुब्बालाई दुई लाख रुपैयाँ नगद राशिसहित सम्मान दिइएको हो भने बराललाई एक लाख नगद पुरस्कार प्रदान गरिएको थियो । भण्डारीले उनीहरूसहित २०७६ र ०७७ सालका सम्मान शार्दूल भट्टराई, रघु मैनाली, स्वर्गीय अग्निशिखालाई समेत सम्मान प्रदान गरिन् ।
यसैगरी सरकारले अन्य ५ जना पत्रकारहरूलाई जनही १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुस्कार प्रदान गरिएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेहरूमा कविसमेत रहेका ठाकुर बेल्वासे, बालकुमार नेपाल, डिआर पन्त, सम्झना बन र इकवाल अहमद छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताइन् । उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जबाफदेही सरकार लोकतन्त्रका अपरिहार्यतत्व भएको पनि बताइन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना र सञ्चारको हक तथा मौलिक हकका रुपमा सुनिश्चित गरेको छ, यसबाट अभिव्यक्तिको स्वतन्त्रता संस्थागत हुनुका साथै सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना प्राप्त गर्न नागरिक अधिकारको प्रत्याभूति भएको छ, संविधान प्रदत्त मौलिक हकलाई आधार मानेर हाम्रो मुलुकमा प्रेस स्वतन्त्रता अछूत रहने परिवेश निर्माण भएको छ ।’