धरानः धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा दलका नेतालाई खटाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत् मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा आवद्ध हुन नहुने कानुनमा उल्लेख भएपनि उनी दलसँग आवद्ध भएको पाइएको छ । दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउँदा निष्पक्षतामाथि प्रश्न उठ्छ ।
दलका जिम्मेवार व्यक्ति चुनावमा खटाइएको विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिइएको थियो । तर उजुरीको विषयमा आयोग तथा जिल्ला प्रशासन कार्यालयले कुनै सुनुवाइ नभएको एमालेले जनाएको छ ।
यता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उहाँ पार्टीमा भएको भन्ने उजुरी आएको बताए । कुनै पनि कर्मचारी दलसँग आवद्ध हुन नपाइने कानुनमा छ । बराह क्षेत्रमा खटिएका एक कर्मचारी ट्रेड युनियनमा भएको पाइए पछि फिर्ता बोलाइएको उनले बताए । निर्वाचन कार्यायल धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले यस विषयमा उनी दलसँग आवद्ध नभएको पाइएको बताए । उजुरी आएपछि उनलाई निगरानीमा राखेर काममा खटाइएको उनले जानकारी दिए ।