धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले २० वटै वडामा गठबन्धनले नजिते काम गर्न असहज हुने बताएका छन् ।
धरानको भानुचोकस्थित गठबन्धनको चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘मेरो उपस्थितिमा काम गर्न बाध्यात्मक परिस्थिति थियो’, उनले भने, ‘मेयरको अनुकुलमा काम हुन सक्ने परिस्थिति थिएन, उहाँहरु (एमाले) को दुई तिहाइ बहुमतका कारणले गर्दा कार्यपालिकामा निर्णय गर्न चुनौतीपूर्ण थियो । त्यसकारणले नगर प्रमुखको रुपमा किशोर र उपप्रमुखको रुपमा अइन्द्रविक्रमलाई काम गर्न सजिलोका लागि सकभर २० वटै वडामा वडाध्यक्षले चुनाव जितेर आउनुपर्छ ।’ उनले मेयर, उपमेयरलाई मात्रै नभएर वडाध्यक्षले जिते चाहेको जस्तो बजेट निर्माण, नीति निर्माण गर्न सकिने बताए ।
धरान रङ्गशालालाई खेलग्राम निर्माणका लागि किशोर राईलगायत धरानका आम खेलप्रेमीहरुले अघि बढाउन पहल गरेपनि उपमेयरलगायत बहुमतको कार्यपालिका सदस्यले शक्ति प्रयोग गर्दा ५ करोड रुपैयाँ बजेट आउन नसकेको उनले खुलासा गरे ।
‘यति मात्रै होइन’, उनले भने, ‘बुढासुब्बा गोल्डकप आयोजना हुँदै गर्दा प्रदेश सरकारले १० लाख रुपैयाँ दिने भनेर विनियोजन गरेको थियो तर यिनै एमालेका जनप्रतिनिधि र नेताहरुका कारणले त्यो बजेट आएन, किशोरको नाम आउँछ भनेर १० लाख बजेट रोकियो, बजेट रोकिँदा किशोरले जहाँ जहाँ बोलेका थिए, जहाँ जहाँ तिनुपर्ने थियो, त्यहाँ पुरयाउन सकेनन् र यसको नेतृत्वलाई खुइल्याउने काम गरियो ।’ उनले आफ्नो नेतृत्वले बुढासुब्बालाई सफलतापूर्वक सम्पन्न गर्न भनेर १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
चुनावमा जिताउन लागिपरिरहेको छु
उनले गठबन्धन नेतृत्वलाई जिताउन आफू हरतरहले लागिपरेको पनि बताए । आफूले जसरी हुन्छ गठबन्धनलाई जिताउन लागिपरेको उनको भनाइ छ ।
‘म गठबन्धनलाई चुनाव जिताउन लागिसकें’, उनले भने, ‘जसरी मलाई मतदान गरेर धरानबासीले जिताउनुभयो, त्यसैगरी गठबन्धनले पनि केही गर्छ, त्यसको लागि पनि मतदान गरिदिन आग्रह गर्दछु, जसले जितेपछि मेरो कार्यकालमा भएका अपूरा कामहरु पूरा गर्नेछन् भन्ने आशा राख्दछु ।’
एमालेको ढाँट्नेका काम
उनले एमालेले जहिल्यै ढाँट्दै आएको बताए । ‘मैले कताकता सञ्चार माध्यममा हेरें कि यो काम पनि मैले गरेको, यो काम पनि मैले गरेको, राम्रो कामजति सबै एमालेले गरेको, नराम्रो कामजति कांग्रेसले गरेको भनेर देखाइएको छ’, उनले भने, ‘नराम्रो कामजपति कांग्रेसले गरेको भए मेयर अर्थात् प्रमुखको नेतृत्व कसले गरेको साथीहरु, त्यहाँ एमालेले ढाँट्ने काम गरेको छ, नराम्रो काम गर्ने कांग्रेस हो भने राम्रो काम गर्ने पनि कांग्रेस होला नि, हामी ढाँटको कुरा गर्दैनौं ।’
‘घात हुँदैन’
धरान उपमहानगरपालिकाको बैठक कक्षमा आफ्नो कार्यकालमा गरेका कामहरु देखाउन आयोजित कार्यक्रममा पनि उनले गठबन्धनलाई जिताउन लागिपरेको बताएका उनले चुनावीसभामा पनि सोही शब्द दोहोरयाएका हुन् ।
यसअघि मेयर हुँदा अहिलेका मेयरका उम्मेदवार किशोरले सघाएको गुन तिर्न तिलक लागिपरेको कांग्रेसका एक नेता बताउँछन् । ‘यसअघि कांग्रेसभित्रै घात हुने गरेको थियो, त्यही भएर कांग्रेसले धरानमा कहिल्यै जितेन’, ती नेताले भने, ‘तर केही वर्षअघिदेखि कांग्रेस फरक कोणबाट हिँडिरहेको छ, जसरी यसअघि तिलकलाई जिताउन सबै कांग्रेस लाग्यो, त्यसरी नै यसपटक पनि किशोरलाई जिताउन लाग्नेछ ।’