Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि सार्वजनिक गाडी नचल्ने

हाम्रो कोशी आवाज
बैशाख २९ २०७९, बिहिबार
भोलि सार्वजनिक गाडी नचल्ने

धरानःमतदानको दिन सार्वजनिक सवारी चलाउन नपाइने भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको हो ।
उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिकाले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी अनुमतिपत्र अनिवार्य लिनुपर्ने भएको छ ।
‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड’मा उम्मेदवार तथा अन्य निकाय वा संस्थाले समेत सवारीसाधन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । सवारीसाधनका लागि वितरण गरिने अनुमतिपत्र र त्यसको अनुगमनका लागि सहसचिवको नेतृत्वमा समितिसमेत बनाइने भएको छ ।
मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारीसाधनको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिई सवारीसाधन प्रयोग गर्न सकिने मापदण्डमा उल्लेख गरिएको छ ।
यस्तै, आफैँ हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म आवागमनको सहजीकरण मिलाउने जिम्मा पनि जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।
पत्रकारलाई पास
मतदानको दिन दुई पांग्रे वा चार पांग्रे सवारी साधन प्रयोग गर्ने पत्रकारहरुले पनि सूचना विभागको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ । सञ्चार माध्यमहरुलाई सवारी पासका लागि कोटा छुट्याइएको छ ।
अत्यावश्यक क्षेत्रलाई पास नचाहिने
निर्वाचनका दिन अत्यावश्यक क्षेत्रका लागि भने पास अनिवार्य गरिएको छैन । मापदण्डको बुँदा नम्बर आठमा एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटका सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिन नपर्ने उल्लेख छ ।

प्रकाशित मिति: बैशाख २९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend