Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा शान्तिपूर्ण मतदान

हाम्रो कोशी आवाज
बैशाख ३० २०७९, शुक्रबार
धरानमा शान्तिपूर्ण मतदान

धरानः धरानमा जनप्रतिनिधि छान्न जनता जुर्मुराएका छन् ।
धरानमा स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले धरानमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएकोमा खुशी लागेको बताए । ‘मैले बुझेअनुसार अहिलेसम्म त्यस्ता कुनै अप्रिय घटना भएनन्’, उनले भने, ‘जे होस् यहाँ शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।’ उता धरान–६ पानबारीमा मतदानस्थलमा विवाद हुँदा आधा घण्टा मतदान रोकिएको थियो ।
निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । ५ बजेपछि मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाए । उनीहरुले साढे ६ बजेसम्म पनि मतदान गरेको धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । कति प्रतिशत मत खसेको हो भन्नेबारेमा भने अधिकृतको कार्यालयले केही जानकारी दिएको छैन । यद्यपि, कार्यालयले स्थानीय तह निर्वाचन २०७९ मा ६० देखि ६५ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ।
धरानमा स्थानीय चुनावको मतदानमा उत्साहजनक सहभागिता भएपनि मत कम खस्न सक्ने आँकलन गरिएको पर्यवेक्षकका रुपमा खटिएका सहप्राध्यापक राजेन्द्र शर्माले जानकारी दिए । अशक्त (फरक क्षमता भएका) को सहभागिता पनि उल्लेखनीय भएपनि मतदान केन्द्र अपाङ्गमैत्री नभएको उनले बताए । उनले मतदान केन्द्र अपाङ्गमैत्री नदेखिएको र मत बदर बढ्ने देखिएको बताए । यस्तै मतपत्रका कारण मत बदर बढ्ने जोखिम बढेको उनले जानकारी दिए ।
काखे नानी च्याप्नेदेखि, वृद्धवृद्धा, अशक्त, दृष्टिविहीन साथै कोही लौरो टेकेर पनि बुथमा पुगेका थिए । साढे ६ बजेपछि मतपत्र ल्याउन शुरु गरिएको छ । मतपत्र ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना थालिने जनाइएको छ ।
तस्वीरहरुः शेखरनाथ जोगी, लक्ष्मण थापा

प्रकाशित मिति: बैशाख ३० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend