धरानः धरान-२० को मतगणना जारी रहँदा विष्णुपादुका मतदानस्थलको मतपत्रमा त्यहाँका अधिकृतको हस्ताक्षरबिनाको मतपत्र फेला परेपछि धरानस्थित निर्वाचन अधिकृतको कार्यालय तोडफोड भएको छ ।
धरानस्थित निर्वाचन कार्यालयका प्रमुख पुष्करराज नेपालको राजीनामा माग्दै माओवादी केन्द्रका कार्यकर्ताहरु आन्दोलित बनेका हुन् । धाँदली भएको माओवादी केन्द्रको आरोप छ ।
१८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि माओवादी कार्यकर्ताहरु आन्दोलित बनेको माओवादी केन्द्रका नेता सुदर्शन श्रेष्ठले जानकारी दिए । १८ वटा मतपत्रमा त्यहाँस्थित मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि आन्दोलित बनेको उनले जानकारी दिए । त्यहाँ बाक्लो मात्रामा प्रहरी खटाइएको छ । माओवादी कार्यकर्ताहरुले निर्वाचन अधिकृत चाहिँदैन जस्ता नारा लगाएका थिए । आन्दोलनमा उत्रिएका उनीहरुले घटनामाथि छानबिन गरेर दोषीलाई कारबाहीको माग समेत गरेका छन् । वडाको मतगणना सकिँदा वडाध्यक्षमा ४ मतले माओवादी केन्द्रका उम्मेदवार कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । ‘रद्द भएको मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार विजयी हुने अवस्था थियो’, उनले भने । वडामा कांग्रेसका पदमबहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रबाट भने विजय तामाङ प्रतिस्पर्धामा थिए ।
हाल मतगणना रोकिएको छ । हाल धरान २०, ८ र १२ नम्बर वडाको मतगणना जारी रहेको थियो ।




