धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले अनाथ (फरक क्षमताका) बालबालिकालाई पाठ्य र खेलकुद सामग्री वितरण गरेका छन् ।
धरान–३ स्थित सरस्वती बालआश्रमका बालबालिकाकालाई पाठ्य र खेलकुद सामग्री वितरण गरेका हुन् । युएन कलेज एण्ड नवोदय प्लस टु ले १० वर्ष पूरा गरेर मनाउन लागिएको ‘दशक महोत्सव’ का अवसरमा उनीहरुलाई त्यहाँ पुगेर सो सामग्री प्रदान गरेका हुन् ।
यही जेठ ७ गते स्थापनाको १० वर्ष पूरा भएको कलेजले स्थापनाकालमा पनि त्यहाँ पुगेर पाठ्यसामग्री वितरण गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । विद्यार्थीलाई सामाजिक काम गर्न उत्प्रेरित गर्ने साथै फरक क्षमताका बालबालिकाहरुको पठनपाठनमा केही भएपनि सहज होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम राखिएको उनले जानकारी दिए ।
कार्यक्रममा कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले स्कुल, ‘कलेज लेवल’ देखि नै विद्यार्थीले सामाजिक काम गर्न सिकिराख्नुपर्ने बताए । त्यहाँ सो सामग्री वितरणपछि कलेजमा पनि विद्यार्थीका लागि सामाजिक दायित्व र सामाजिक दायित्व निर्वाहबारे ‘काउन्सेलिङ’ कार्यक्रम राखिएको थियो ।
कलेजले भोलि अर्थात् जेठ ७ गते धरान–१५ स्थित किरात याक्थुम चुम्लुङको हलमा भव्यरुपमा दशक महोत्सव मनाउने भएको छ । २०६८ सालमा ११ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको र हाल आएर कलेज प्रदेश १ कै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ । ‘कलेजले धरानलाई शैक्षिक क्षेत्रको हब बनाउन सहयोग गरिरहेको छ, साथै कलेजले प्रदेश १ मै ब्राण्ड पनि बनाएको छ’, कलेजका अध्यक्ष ज्ञानेश्वर झा भन्छन्, ‘कलेजबारे धेरै कुरामा अवगत भएपनि थप जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरेका हौं ।’
क्याम्पस प्रमुख तुम्बापोले प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे (राई) को प्रमुख आतिथ्यमा कार्यक्रम हुने जानकारी दिए । कार्यक्रममा कक्षा–१२ र बीबीएस चौंथो वर्षका विद्यार्थीहरूलाई विदाइ कार्यक्रम साथै बीबीएस पहिलो वर्ष र बीएचएम पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम राखिएको उनले जानकारी दिए ।










