धरानः धरान उपमहानगरपालिकामा दलहरुलाई स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङ (लौरो चुनाव चिहन) ले आच्छुआच्छु पारेका छन् ।
मतगणना सुरू भएयता कहिले दोस्रो र कहिले तेस्रो बन्दै आएका उनको लौरो चुनाव चिहन हिजो अर्थात् बिहीबारदेखि अघि बढ्दै पहिलो बनेको हो ।
धरान उपमहानगरापालिकाको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्रका उम्मेदवार हर्कले कांग्रेस र एमालेलाई पछाडि छाडेका छन् । उनले दलहरूलाई आच्छुआच्छु पार्ने गरी मत ल्याइरहेका छन् ।
पछिल्लो मत परिणामअनुसार साम्पाङले १२ हजार ८०५ मत ल्याएका छन् । उनले मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राई (रुख) भन्दा १५ सय ६० मतले अग्रता लिएका छन् । किशोरले ११ हजार २ सय ४५ मत प्राप्त गरेका छन् । यस्तै, मेयर पदकै नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ८ हजार १ सय ४८ मत पाएकी छिन् ।
यस्तै, उपमेयरमा अइन्द्रविक्रम बेघा (गोलाकार भित्री हँसिया हथौडा) ले १३ हजार ३२ मत प्राप्त गरेका छन् भने पदम इश्वो (सूर्य) ले १२ हजार ३१६ मत ल्याएका छन् ।
धरानमा एकातिर कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ भने अर्कातिर एमाले उभिएको छ । राईलाई गठबन्धनको साथ छ भने भण्डारी एक्लै लडेकी छिन् । ठूला दलहरूलाई नै चुनौती दिँदै अघि बढिरहेका साम्पाङ र बेघाले लोकप्रिय मत पाइरहेका हुन् । पछिल्लो समय लगातार अग्रता बनाउन थालेका साम्पाङ लगातार मतगणनास्थलमा खटिरहेका उनले अग्रता लिएसँगै समर्थकहरु त्यहाँ पुग्न थालेका छन् ।
धरान–१५, १६ र १७ वडाको पूर्णरुपमा मत गन्न बाँकी नै छ । ६२ हजार ८९८ मत खसेको धरानमा यो समाचार तयार पार्दासम्म २२ हजार १०१ मत गन्न बाँकी नै रहेको जनाइएको छ ।


















