Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘यत्रो धरान उपमहानगरपालिका म एक्लैले चलाउँदिनँ’

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७९, आइतबार
‘यत्रो धरान उपमहानगरपालिका म एक्लैले चलाउँदिनँ’

धरानः धरान उपमहानगरपालिकाको नवनिर्वाचित मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पहिलो प्राथमिकता खानेपानी नै रहेको बताएका छन् ।
मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँगको कुराकानीमा उनले खानेपानीका लागि धराने काकाकुल बन्दै गरेको अवस्थामा यो नै पहिलो प्राथमिकता भएको प्रतिक्रिया दिएका छन् । ‘मैले धराने जनतालाई कोशीको पानी नल्यासम्म धरान छोड्नेसम्मको घोषणा गरिसकेको छु’, उनले भने, ‘त्यो काम गरेर देखाउने मेरो प्राथमिकता हुनेछ ।’
उनले खानेपानीमा भएको भ्रष्टाचार भएको हो वा के भएको भन्नेबारेमा आफूले खोज्ने बताए । ‘योजना त फेल भएको देखियो, त्यो बारेमा खोज्छु, अन्ततः धरानको खानेपानीमा के भएको रहेछ खोज्छु, राजनीति धेरै भयो कि, प्राविधिक कारणले फेल भयो कि, कन्सल्टेन्सीले गलत काम गरेको हो कि ती कुराहरु खोज्न जरुरी छ, किनभने जनताले मलाई त्यो पनि गर भनेर पठाएको हो भन्ने लागिरहेको छ’ उनले भने ।
उनले थपे, ‘खानेपानीकै लागि लडेको हुँ, मेरो पहिलो प्राथमिकता खानेपानी हुन्छ । यो समस्याका लागि म फिल्डमा नै हुन्छु ।’ उनले यसअघि खानेपानीका लागि नमस्ते गर्दा गर्दा, विन्ती गर्दा सुशासन र भ्रष्टाचारका लागि आवाज उठाउँदा उठाउँदा पाँच वर्ष बितेपनि काम नभएकोले धराने जनताले आफूलाई त्यहाँ पठाएको पनि बताए । ‘बरु आफैं जाने पाँच मिनेटमा गर्ने भनेर मचाहिँ यतातिर आएको हुँ ।’ उनले भने ।
उनले यसअघिको भूमिका र शैली पनि परिवर्तन हुने बताए । ‘मेरो भूमिका पहिलाको जस्तो आन्दोलन गर्ने हुने छैन’, उनले भने, ‘अब म हाँसेर काम गर्छु, पहिलाको जस्तो नारा लगाउँदिनँ ।’
उनले दलहरुले ‘हेरौं यसले कसरी काम गर्दोरहेछ’ भनेर नभनिदिन पनि आग्रह गरे । उनले दलहरु सबैलाई मिलाएर लाने पनि प्रतिबद्धता जनाए । ‘किन काम गर्न नदिने ?’, उनले थपे, ‘यसको उत्तर दिँदा दिँदा म हैरान भइसकें, किन काम गर्न नदिने, कसले नदिने ? म सबैलाई मिलाएर अघि बढ्छु, म आफैले गर्छु, एक्लैले गर्छु भन्ने छैन, एउटा परिवार चलाउन त अर्काको छोरी ल्याउनुपर्छ, यत्रो उपमहानगरपालिका म एक्लैले चलाउँछु होला त, सबै राजनीतिक दलहरुलाई स–सम्मान हुन्छ, हिजोका दिनमा चुनावका दिनमा भनियो, त्यो त आफ्नो मेलो गरेको हो तर भोलिका दिनमा त उहाँको पनि साथ सहयोग चाहिन्छ, राजनीतिक दल, सामाजिक संघसंस्था सबै पक्ष मिले धरानलाई के गर्दा राम्रो हुन्छ, धरान कसरी राम्रो हुन्छ भन्नेतर्फ हामी जान्छौं ?’

प्रकाशित मिति: जेष्ठ ८ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend