धरानः धरानका नवनिर्वाचित मेयर (प्रमुख) हर्कराज राई (हर्क साम्पाङ) ले खानेपानीको मुहान अवलोकन गरेका छन् ।
धरानमा आपूर्ति हुने पानीको मुहान अवलोकनपछि उनले कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिएको बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका बलिया उम्मेदवार उठ्दा पनि लोकप्रिय मतसहित विजयी भएका साम्पाङ धरानको खानेपानी समस्या समाधानको खोजीमा लागेका हुन् ।
उनले बुधबार दिउँसो धरानमा वितरण गरिने सर्दु जलाधार क्षेत्रस्थित खानेपानीको मुहान अवलोकन गरेका हुन् । धरान–११ र १६ का मतदातासँग मोटरसाइकलमा चढेर भेट गरेका उनले त्यसलगत्तै मोटरसाइकलमै पानीको मुहान अवलोकनमा पुगेका हुन् । मुहान पुग्दा पाइप फुटेर पानी खोलामै बगिरहेको पाइएको र तत्कालै मर्मत गर्नुपर्ने देखिएकोले मर्मत गरी पठाउन निर्देशन दिएका हुन् ।
साम्पाङले भोलि जंगल क्षेत्रस्थित सेउती खोलाको पानी पनि अवलोकन गर्ने जनाइएको छ । आफ्नो पाँच वर्षे कार्यकालमा धरानमा पानीको समस्या हटाउने भनेर मतदाता रिझाएका थिए ।
धरानमा वर्षायाममा पानीको खासै समस्या नभएपनि हिउँद (फागुन, चैत, वैशाख) मा अझै पानीको समस्या छ । निवर्तमान मेयर तिलक राईले वर्षायाममा पानीको खासै समस्या नहुने तर हिउँदमा भने पानीको समस्या ज्युँका त्युँ रहेको बताउँदै आएका थिए ।
नवनिर्वाचित मेयर साम्पाङले उपमहानगरपालिकामा पदभार ग्रहण गर्दा खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताएका थिए । उनले खानेपानीमा दुई किसिमको समस्या देखेको बताउँदै व्यवस्थापन र उत्पादनलाई जोड दिने बताएका थिए । उनले मर्मत–सम्भार, लिकेज, मेसिन बिग्रिएको समस्या तत्कालै समाधान गर्ने र उत्पादन बढाउन, स्रोत थप्नतिर लाग्ने बताउँदै आएका छन् ।
धरानमा एशियाली विकास बैंकको सहयोगमा भूमिगत पानी निकालिएपनि अझै धरान खानेपानी संस्थानले चलाएको बेलाजस्तै समस्या छ । मेयर साम्पाङले एडिबी परियोजना असफलजस्तै रहेको र धरानमा दीर्घकालीन पानीको समस्या समाधान गर्न पाँच वर्षभित्र सप्तकोशीको पानी ल्याएर खुवाउने घोषणापत्रमा जनाएका छन् ।
