धरानः धरान-५ स्थित तल्लो देउरालीमा एकजना पुरुषको शव काटिएको अवस्थामा फेला परेको छ ।
सुन्दर बस्तीनजिकै माथिल्लो सेउती पुलमुनि सेउती खोलामा एकजना पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर गजेन्द्र रायमाझीले जानकारी दिए । ‘बस्तीनजिकै सेउती खोलाको किनारामा करिब ३५ देखि ३९ वर्ष उमेरका एकजना पुरुषका शव फेला परेको छ, घाँटीको पछाडि भागमा काटिएको छ, गहिरो चोट पनि छ, थप अनुसन्धान भइरहेको छ’, उनले भने ।
घाँटीको पछाडि भागमा गहिरो चोट र अन्यतिर पनि टाटैटाटाजस्तो देखिएको उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘यो हत्या नै हो भन्ने हामीले अनुमान गरेका छौं’, उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ, थप कुरा आइहाल्छ ।’
खोलामा काम गर्न पुगेका स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव बीपी प्रतिष्ठानमा ल्याएर पोष्टमार्टमको तयारी गरिरहेको उनले जानकारी दिए ।

