Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हुने भनिएको ‘एसईई आइडल’को अडिसनका लागि निर्णायकमा विकास लिम्बू आउने

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७९, बिहिबार
धरानमा हुने भनिएको ‘एसईई आइडल’को अडिसनका लागि निर्णायकमा विकास लिम्बू आउने

धरानः धरानमा हुने भनिएको प्रदेश १ स्तरीय गायन प्रतियोगिता वाइवाइ (एसइई आइडल सिजन २) र नृत्य प्रतियोगिता (डान्सिङ स्टार सिजन १) को अडिसन जेठ १४ गतेदेखि हुने भएको छ ।
प्रतियोगिताको निर्णायकमा यसपटक गायक विकास तुम्बापो लिम्बू धरान आउने भएका छन् । उनी द भ्वाइस अफ नेपाल सिजन दुईका टप ४ फाइनलिस्ट हुन् । उनीसँगै गिटारिष्ट तथा गायक विनायक राई पनि अडिसनमा रहनेछन् । यस्तै, डान्सिङ स्टारका लागि नेशनल कोरियोग्राफर प्रितम सम्वाहाम्फेलगायत रहनेछन् । यसअघि गायनतर्फको प्रतियोगिताको निर्णायकमा गायिका प्राश्ना शाक्यलगायतको उपस्थिति थियो ।
एसईई दिएर बसेका छात्रछात्राहरुले दुवै प्रतियोगितामा भाग लिँदैछन् । जेठ ७ गते हुने भनिएको अडिसन जेठ १४ गतेका लागि सरेको हो ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा यसवर्ष डान्सिङ स्टार पनि थपेर दुवै प्रतियोगिता हुन लागेको हो ।
२०७५ सालमा पहिलोपटक ‘एसइई स्टेट १ आइडल’ आयोजना गरिएको र यस वर्षदेखि कार्यक्रम थपेर डान्सिङ स्टार पनि गर्न लागिएको प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
‘गुणस्तरीय शिक्षा हाम्रो चाहना शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकास हाम्रो कामना’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको हो । बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ‘हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ । त्यो क्षमता वा प्रतिभा प्रदर्शनका लागि उनीहरूले उचित अवसर पाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
प्रतियोगितामा विजेताले नगद ५० हजारसहित एउटा गीत रेकर्ड, म्युजिक भिडियोमा खेल्ने अवसर, प्लस टु पढ्ने अवसर पाउनेछन् भने फस्ट रनरअपले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेण्ड रनरअपले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने प्रचारप्रसार इभेण्ट कोअर्डिनेटर तिर्थ कार्कीले जानकारी दिए । २०७५ सालमा गौरव राई विजेता, राज लोहार फष्ट रनरअप र मिक्सोहा लिम्बू सेकेन्ड रनरअप भएका थिए ।

प्रकाशित मिति: जेष्ठ १२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend