धरानः भानुचोकमा मेयर हर्कराज राई (हर्क साम्पाङ) पुग्दा केही सर्वसाधारण खदा लिएर पुगेका थिए । त्यतिबेला उनले खदा लगाउँदै भने– झाडु लिएर आउनु भनेर आह्वान गरेको त खदा पो लिएर आउनुभयो ? यति भनेपछि उनले खदा पहिरिए, खदा पहिरिएका उनले खदा खोल्दै झाडुले भानुचोक वरपर सरसफाइमा उत्रिए । सरसफाइ गर्दै उनले भानुचोकभरका गुट्खा, खैनी, पानीका बोतललगायत अन्य फोहोरजन्य वस्तु समेत टिपे ।
उनले भानुचोक छेऊछाउका पसल वरपरका सर्वसाधारण, सडकमा हिँड्ने सर्वसाधारण, सार्वजनिक यातायात व्यवसाय, सार्वजनिक बसका कर्मचारीलाई जताततै फोहोर नफाल्न आग्रह गरे । उनले फोहोर टिप्दै गर्दा त्यहाँ बसोबास गर्ने सर्वसाधारणले भानुचोकको टवाइलेटको अवलोकन गर्न आग्रह गरे । त्यसपछि उनी टवाइलेट भित्र पसेर पनि अवलोकन गरेका थिए ।
उनले आजको दिन धरानलाई ‘क्लिन सिटी’ बनाऔं भन्ने सन्देश छर्न हिँडेको र अब धरान उपमहानगरपालिकामा नियम लागू गरिने र कोही कसैले अञ्जानमा गरे छुट दिने तर अटेर गर्ने कारवाही गर्ने समेत बताए । ‘फोहोर नफालौं भनेर थोरै बजेट छुट्याइन्छ, जनचेतना फैलाइन्छ, फोहोर नफाल्न बिन्ती गर्छौैं, धरान उपमहानगरपालिकाले नियम बनाउँछ, अटेर गरेर ५ देखि १० हजार रुपैयाँसम्म कारवाहीस्वरुप जरिवना तिराउने व्यवस्था हुने खालको कानुन बनाउँछौं ।’ उनले पत्रकारहरुसँग कुरा गर्दै भने ।
उनले जसरी हुन्छ धरानलाई सफा र सुन्दर सहर बनाउने अभियान आफूले थाल्नुपर्छ भनेर लागिपरेको बताए । मेयर साम्पाङले धरानको मुख्य बजार रहेको भानुचोक र बसपार्क क्षेत्रको सरसफाइ समेत गरे । एकदुईजना साथीहरु लिएर सडक सफाइमा निस्किएका उनी त्यहाँ पुग्दा धेरै सर्वसाधारणलदेखि अन्यले समेत सपोर्ट गरेका थिए । उनलाई सर्वसाधारण, उपमहानगरपालिकाका सफाइ कर्मचारी, नगर प्रहरी, स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साथ दिएका थिए । केही वर्षअघि धरान उपमहानगरपालिकाले सफा र सुन्दर सहरको पुरस्कार पाउने गरेको तर केही वर्षदेखि दुर्गन्धित हुँदै गएपछि आफूले सरसफाइ अभियानमा लागेको उनले बताए ।
उनले भानुचोकको शौचालय आसपासमा समेत दुर्गन्ध फैलिएको भन्दै आइन्दा फोहोर नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अबदेखि धरानमा पर्यटक छिर्दा आहा भन्ने खालको बनाउन आफू जहिल्यै लागिपर्ने पनि बताए । उनले कुर्सीमा बसेर केही काम नहुने देखेर आफू सधैंजसो जनताको काममा फिल्डमै हुने पनि बताए । ‘जनताले चासो दिने विषयमा मेयर आफै खटिएको देखेपछि औधी खुशी लागेको छ’, धरान–७ का निश्चल पलिखेले भने, ‘अब धरानले केही फड्को मार्छ कि ।’
अघिल्लो दिन नै भानुचोकमा झाडु लिएर आउन आह्वान गरेका उनले दिउँसो ३ बजे भानुचोक सफाइ कार्यक्रममा पुगेका थिए । उनीसहितको टोली भानुचोकमा वरपरबाट करिब ३ बोरा फोहोर सङ्कलन गरेका थिए । सो सङ्कलित फोहोर उठाउन तत्कालै उपमहानगरपालिकाको गाडी बोलाइएको थियो ।
तस्वीरहरुः शेखरनाथ जोगी, लक्ष्मण थापा











