Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जो अहिले पनि मतदाताको घरघरमा छन्

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७९, शुक्रबार
धरानमा जो अहिले पनि मतदाताको घरघरमा छन्

धरानः लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार अहिले पनि घरघरमा पुगिरहेका छन् । मतदातालाई धन्यवाद दिन उनीहरु घरघर पुगिरहेका हुन् ।
गठबन्धनबाट मेयर पदमा उठेका उम्मेदवार किशोर राई, उपमेयर पदका उम्मेदवार अइन्द्रविक्रम बेघा मतदाता भेटघाटमा लागिरहेका हुन् । स्थानीय तहको निर्वाचनका क्रममा मतदान गर्ने मतदातालाई धन्यवाद दिन, उनीहरुका कुरा सुन्नका लागि उनीहरु मतदाता भेटघाटमा निस्किएका हुन् ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार राईले कांग्रेसका उम्मेदवार राईले १६ हजार ५९ मत पाएका थिए । उनले मेयरमा निर्वाचित साम्पाङभन्दा ४७ सय ६२ कम मत ल्याएका थिए । साम्पाङले २० हजार ८२१ मत पाएका थिए । त्यस्तै, नेकपा (एमाले) की उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) ले १२ हजार ८२५ मत पाएकी छिन् ।
पराजित भएपनि उनी मतदातालाई धन्यवाद दिन निस्किएका हुन् । जेठ ११ गतेदेखि धरान–१८ बाट मतदाता भेटघाट कार्यक्रम थालिएको शुक्रबार धरान–१, ७ नम्बर वडामा भेटघाट कार्यक्रम रहेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए । टोल–टोलमा भेटघाट तथा छलफलको कार्यक्रम रहेको उनले जानकारी दिए । जेठ २६ गतेसम्म नै मतदाता भेटघाट कार्यक्रम रहेको उनले जानकारी दिए ।
‘मिश्रित विजय भएको हामीले ठानेका छौं, मेयरले हार्नुपरयो, कतिपय ठाउँमा हाम्रा वडाध्यक्ष सेट नै आए, कतिपय ठाउँमा वडाध्यक्ष मात्रै आए तर पनि हामी खुशी छौं, हार व्यहोरेपनि जनतासँग भएका प्रतिबद्धतासँग प्रतिबद्ध छौं, भविष्यमा पनि साथ सहयोग रहिरहने अपेक्षासहित हामी घरघरमै छौं ।’ उनले भने ।
मेयर पदमा पराजित राईले राजनीति सेवा हो यसैले नतिजा पक्षमा आयो कि आएन भन्ने कुराले अर्थ नराख्ने भन्दै मतदाता भेटघाट थालेको बताए । आफू २० वटै वडामा मतदाता भेटघाटमा लाग्ने र निरन्तर जनताको सेवामा खटिने उनले बताए । उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापूर्वक आफूले स्वीकारेको र मेयरमा निर्वाचित व्यक्तिलाई रचनात्मक साथ र सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।
‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिनँ तर उपमहानगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइको मन जित्न सकें,’ उनले थपे, ‘हामीले राजनीति गरेपछि जनताको सेवा नै गर्ने हो, अबका दिनमा पनि निरन्तर राजनीतिमै मेरो जीवन डुल्छ, अझै सेवा गर्दै अघि बढ्नेछु ।’

 

 

प्रकाशित मिति: जेष्ठ १३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend