धरानः धरान–८ मा अवस्थित विद्याभूषण स्कुलले विद्यालयको क्याप्टेन एवम् हाउस क्याप्टेन छनोटका लागि विद्यार्थीहरुबीच चुनाव गराएको छ ।
चुनावी प्रक्रियाबाट विद्यालयको क्याप्टेनमा १२९ मत प्राप्त गरी कक्षा–९ की छात्रा समीक्षा लिम्बू विजयी बनिन् भने सहक्याप्टेनमा १०८ मत प्राप्त गरी कक्षा–१० की छात्रा संस्कृति लिम्बूले विजय हासिल गरिन् । यसैगरी चार हाउसका क्याप्टेन र सहक्याप्टेन छनोटका लागि भएको चुनावमा रेड हाउसबाट क्याप्टेन पदमा अर्बज सेख र सहक्याप्टेन पदमा श्यामशरण मण्डल विजयी बने भने ब्लु हाउसबाट क्याप्टेन पदमा अस्मी मगर र सहक्याप्टेन पदमा सृष्टिका जिमी विजयी भए ।
यसैगरी यल्लो हाउसको क्याप्टेन पदमा नाम्फुङ लिम्बू र सहक्याप्टेन पदमा नालिसा तामाङ विजयी बने भने ग्रिन हाउसको क्याप्टेन पदमा निम्सारा मगर र सह क्याप्टेन पदमा सामना राईले जित हासिल गरे ।
मतदानमा हरेक उमेदवारका लागि चुनाव चिह्नहरू निर्धारण गरिएका थिए । मतदान प्रक्रियामा कक्षा–१ देखि कक्षा–१० सम्मका छात्रछात्राहरूको उपस्थिति रहेको थियो । चुनावी माध्यमबाट नेतृत्व छनोट गर्ने प्रक्रियाबारे विद्यार्थीहरूलाई जानकारी दिन एवम् भविष्यमा स्थानीय एवम् राष्ट्रियस्तरमा हुने चुनावमा नेतृत्व चयन गर्न सक्ने क्षमताको विकासका लागि निर्वाचन कार्यक्रमको आयोजना गरिएको विद्यायलका प्रधानाध्यापक पूर्णचन्द्र ढकालले बताए ।
प्रयोगात्मक र व्यावहारिक ज्ञानलाई बढी जोड दिँदै आएको यस विद्यालयले जीवनोपयोगी शिक्षालाई व्यवहारमा उतार्न र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता विविध अतिरिक्त क्रियाकलापहरू नियमितरूपमा गर्दै आएको विद्यालयका अध्यक्ष भवानी उप्रेतीले बताए ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत विद्यालयका प्रधानाध्यापक रहेका थिए भने निर्वाचन संयोजकका रूपमा भाइस प्रिन्सिपल नुकेश काफ्ले रहेका थिए । कार्यक्रममा योगेन्द्र खतिवडा, कविन श्रेष्ठ, अनिश राई, साजन याक्खा, सलीना वस्ती, सरु श्रेष्ठ, चेल्सिया राई, अस्मिता कार्कीलगायतका शिक्षक–शिक्षिकाहरूले चुनावी व्यवस्थापन गरेका थिए ।







