धरानः किरात राई यायोख्खा सुनसरीले धरानमा साकेला उभौलीको समापन गर्ने भएको छ ।
किरात राई समुदायले सुनसरीमा साकेला उभौली धुमधामका साथ अहिले पनि मनाइरहेका छन् । समुदायले गत जेठ जेठ २ गते अर्थात् बैशाखे पूर्णिमादेखि १४ गतेसम्म विविध कार्यक्रमका साथ साकेला उभौली धुमधामसाथ मनारहेका छन् ।
कार्यक्रमका संयोजक रमेश राईका अनुसार सुनसरीमा १५ दिनसम्म मनाइएको चाड भोलि अर्थात् शनिबार अझै भव्यरुपमा मनाइने भएको हो । कार्यक्रममा प्राकासस्तरीय साकेला शिली प्रदर्शनी कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । उनले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । धरान–१७ स्थित साकेला पार्कमा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी कार्यक्रम हुने भएको छ ।
जिल्ला अध्यक्ष राजेन्द्र राईले यस वर्ष प्रमुख अतिथिका रुपमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आउने जानकारी दिए । कार्यक्रममा प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सरकारका मन्त्रीहरु रामकुमार राई, राजनकुमार राई, धरानका मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघाको पनि कार्यक्रममा सहभागिता रहने आयोजकले जनाएको छ ।
सिली प्रर्दशनीमा प्रथम हुने टोलीलाई नगद ३० हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुनेले २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै, विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले नगद ७ हजार, ५ हजार र ३ हजार क्रमशः पाउनेछन् ।
यायोख्खाले २०५८ सालदेखि साकेला उभौलीलाई अभियानको रूपमा मनाउँदै आएको छ ।
सुनसरीका इटहरी, पकली, विष्णुपादुका, दुहवी, पाँचकन्या, हाँसपोसा, बराहक्षेत्र, शान्तिनगर, बक्लौरी, इनरुवा, प्रकाशपुर आदि ठाउँमा साकेला शिली प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।
किरात राईहरुको पहिचान र अस्तित्वलाई सदा बचाई राख्न किरात राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले २०४५ सालमा स्थापना भएको किरायाले आफ्नो पहिचान र सांस्कृति अयभानको रुपमा राजनीतिक अभियान पनि थालेको संयोजक राई बताउँछन् ।
किरात राई यायोक्खाका सचिव नविन राईले आफ्नो पुर्खादेखि चलिआएको सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै भावीपुस्तासम्म यसको जर्गेना गर्नकै लागि यो पर्व सामूहिकरुपमा मनाउन थालिएको बताए । यो किरात राईहरुको जातीय पहिचान, ऐतिहासिकता र मौलिकता झल्काउने चाड हो ।
