धरानः धरानमा झन्डै दुई वर्षपछि साकेला उभौलीको उल्लास छाएको छ ।
यसअघि कोरोना कहरका कारण धरानमा साकेला उभौली किराती समुदायले मनाउन पाएका थिएनन् । प्रमुख चाड भएपनि धरानमा झन्डै दुई वर्षपछि धुमधामका साथ मनाइएको हो ।
ढोल झ्याम्टा बजाउँदै उपस्थित हजारौंले साकेला सिली नाचेका छन् । धरान–११ स्थित साकेला पार्कमा भेला भएका उनीहरुले धुमधामका साथ साकेला उभौली मनाएका हुन् । किरात राई यायोख्खा सुनसरीले धरानमा साकेला उभौलीको समापन गरेको हो । समुदायले गत जेठ जेठ २ गते अर्थात् बैशाखे पूर्णिमादेखि १४ गतेसम्म विविध कार्यक्रमका साथ साकेला उभौली धुमधामसाथ मनारहेका छन् ।
कार्यक्रमका संयोजक रमेश राईका अनुसार सुनसरीमा १५ दिनसम्म मनाइएको चाड शनिबार भव्यरुपमा मनाइएको हो । कार्यक्रममा साकेला शिली प्रदर्शनी कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । जिल्ला अध्यक्ष राजेन्द्र राईले कोरोना कहरले नाच्न नपाएको साकेला सिली यस वर्ष धुमधामसँग नाच्न पाएको बताए ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले किरात समुदायको यो पर्व गर्व गर्न लायकको रहेको बताए । कार्यक्रममा प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सरकारका मन्त्रीहरु रामकुमार राई, राजनकुमार राई, धरानका मेयर हर्कराज राई (साम्पाङ), यायोक्खाका दोर्पध्वज राईलगायतले साकेला उभौलीको शुभकामना व्यक्त गरेका थिए ।
यायोख्खाले २०५८ सालदेखि साकेला उभौलीलाई अभियानको रूपमा मनाउँदै आएको छ । सुनसरीका इटहरी, पकली, विष्णुपादुका, दुहवी, पाँचकन्या, हाँसपोसा, बराहक्षेत्र, शान्तिनगर, बक्लौरी, इनरुवा, प्रकाशपुर आदि ठाउँमा साकेला शिली प्रदर्शनी आयोजना गरिएको थियो । किरात राईहरुको पहिचान र अस्तित्वलाई सदा बचाई राख्न किरात राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले २०४५ सालमा स्थापना भएको किरायाले आफ्नो पहिचान र सांस्कृति अयभानको रुपमा राजनीतिक अभियान पनि थालेको जनाइएको छ ।
किरात राई यायोक्खाका सचिव नविन राईले आफ्नो पुर्खादेखि चलिआएको सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै भावीपुस्तासम्म यसको जर्गेना गर्नकै लागि यो पर्व सामूहिकरुपमा मनाउन थालिएको बताए ।
तस्वीरहरुः शेखरनाथ जोगी, लक्ष्मण थापा, हाम्रो कोशी आवाज























































