धरानः धरानमा प्रदेश १ स्तरीय ‘वाइवाइ एसइई आइडल’ (गायन) सिजन २ र डान्सिङ स्टार (नृत्य) सिजन १ को अडिसन शुरु भएको छ ।
धरान–१६ स्थित युएन, नवोदय कलेजको हलमा अडिसन शुरु भएको हो । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा आयोजनामा दुवै प्रतियोगितामा १०० जनाले सहभागिता जनाएको प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । पहिलो अडिसनबाट गायनतर्फ ३० जना र नृत्यतर्फ १३ जना छनौटमा परेको उनले जानकारी दिए ।
अडिसनबाट १४ वटै जिल्लाबाट छनोट भएका प्रतियोगीहरूमध्येबाट दोस्रो चरणमा जेठ २१ गते छनोट गर्ने र तेस्रो चरणबाट फाइनसम्म छनोट गर्दै जाने तुम्बापोले बताए । प्रतियोगिताको फाइनल असार १८ गते धरानमा हुने तुम्बापोले बताए ।
अडिसनको निर्णायकहरूमा गायनतर्फ द भ्वाइस अफ नेपाल सिजन दुईका टप ४ मा पर्न सफल गायक विकास तुम्बापो लिम्बू र गिटारिस्ट तथा गायक विनायक राई रहेका छन् भने नृत्यतर्फ नेशनल कोरियोग्राफर प्रितम सम्वाहाम्फे र छमछमी सिजन ३ मा फस्ट रनर अप बनेकी मनिता राई रहेकी छिन् ।
२०७५ सालमा पहिलो पटक ‘एसइई स्टेट १ आइडल’ आयोजना गरिए फक्ताङलुङ मिडियाले यस वर्ष भने नृत्यतर्फ ‘डान्सिङ स्टार’ प्रतियोगिता पनि सञ्चालन गरेको छ । यो विशेषतः एसइई दिएर बसेका विद्यार्थीहरूप्रति लक्षित कार्यक्रम हो ।
प्रतियोगिताको विजेताले नगद ५० हजारसहित एउटा गीत रेकर्ड, म्युजिक भिडियोमा खेल्ने अवसर, प्लस टु पढ्ने अवसर पाउने छ । त्यस्तै, फस्ट रनर अफले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेन्ड रनर अफले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने प्रचारप्रसार इभेन्ट कोअर्डिनेटर तीर्थ कार्कीले जानकारी दिए । २०७५ सालमा गौरव राई विजेता, राज लोहार फस्ट रनरअप र मिक्सोहा लिम्बू सेकेन्ड रनरअप भएका थिए ।




