धरानः बाँझगरा युवा क्लब धरान-१५ को आयोजनामा सातौं बाँझगरा खुल्ला पुरुष तथा महिला भलिबलको तयारी थालिएको छ ।
धरानमा अन्तर जिल्लास्तरीय भलिबल कप हुने भएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै असार २, ३ र ४ गते भलिबल कप हुने क्लबका अध्यक्ष कर्ण केदेमले जानकारी दिए । प्रतियोगिता धरान–१५ स्थित बगरकोटमा हुने भएको छ ।
खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार, मेडल, प्रमाणपत्र र ट्रफी, दोस्रो पुरस्कार ६१ हजार, मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् भने खुल्ला महिला भलिबलतर्फ प्रथम पुरस्कार ३० हजार र दोस्रो पुरस्कार २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने अन्तर जिल्लास्तरीय भेट्रान भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगिताभरी व्यक्तिगत विधातर्फ वेस्ट डिफेन्स, वेस्ट सटर, वेस्ट ब्लकर, वेस्ट सर्भर, वेस्ट स्पाइकर र सर्वोत्कृष्ट खेलाडी छनोट गरी नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केदेमले बताए ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित ६ लाख बजेट लाग्ने आयोजकले जनाएको छ । पुरुष भलिबलका लागि २५ सय, महिला भलिबलका लागि १५ सय इन्ट्री फि राखिएको छ भने भेट्रानतर्फ १५ सय इन्ट्री फि राखिएको आयोजकले जनाएको छ ।