धरानः सोमबार दिउँसो करिब ३ बजेतिर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, घोपा बचाऊ आन्दोलनका अभियानकर्मी, घोपा बचाऊ आन्दोलनको मागहरुलाई सम्बोधन गर्नको लागि गठित ५ सदस्यीय वार्ता टोली, इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठबीच मेयरको कार्यकक्षमा वार्ता भइरहेको थियो ।
मेयर साम्पाङले अब वार्ताकै माध्यमबाट समाधान खोजिनुपर्ने निष्कर्षसहित वार्ता अन्तिम चरणमा थियो । त्यतिबेलै प्रतिष्ठानमा आन्दोलनरत पक्षका केही व्यक्तिले घोपा बचाउ अभियानका संयोजक सुदन गुरुङलाई फोन गरे– हामी आन्दोलनरत पक्षले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई रोकेर राखेका छौं । उनले हुन्छ हामी आइहाल्छौं भने ।
त्यसपछि छलफलले निष्कर्ष निकाल्यो, त्यही गएर वार्तामार्फत समाधान खोज्नुपर्छ । त्यसपछि वार्ता टोलीका पदाधिकारी, मेयर साम्पाङ, डिएसपी श्रेष्ठलगायतको टोली त्यसतर्फ लाग्यो । त्यहाँ पुग्दा ‘घोपा बचाऊ’ अभियानकर्मीले उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई रोकेर राखेका थिए । उनलाई अभियानकर्मीले रोकेपछि केहीबेर गाडीभित्रै रहेका थिए । उनी बाहिरपट्टि अभियानकर्र्मी र भित्रपट्टि सुरक्षाकर्मीले घेरामा राखेका थिए ।
मेयर साम्पाङले त्यहाँ पुगेर पनि वार्ताकै माध्यमबाट समाधान खोजिने बताएपछि आन्दोलनरत् पक्षले पनि ७–८ जनाको टोली बनायो र अहिले वार्ता जारी छ । वार्तामा मेयर साम्पाङ, उपकुलपति डा. गिरी, वार्ता टोलीका पदाधिकारीहरु सामेल छन् ।
यसअघि अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहद्वारा जारी विज्ञप्तिमा उपकुलपतिको निर्देशनमा वार्ताको लागि ५ सदस्यीय वार्ता टोली गठन भएको र वार्तामा आउन आह्वान गरेका थिए ।
उता अभियानकर्मीले भने प्रतिष्ठानका उपकुलपतिसहितको टोलीसँग मात्रै वार्ता गर्ने जनाएका थिए ।
उता घोपा बचाउ अभियानका संयोजक गुरुङले उपकुलपतिसँग निष्कर्षमा पुग्ने खालको वार्ता हुने बताए । ‘सेभ द घोपा क्याम्प’ मुख्य नारा लिएर धरानमा दिनहुँजसो धर्ना कार्यक्रम भइरहेको छ । लगभग दुई महिनादेखि यस्तो अभियान जारी छ । उनीहरु प्ले कार्ड बोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा धर्नामा बस्ने गरेका छन् । जिन्दगीसँग खेलबाड गर्न पाइँदैन भ्रष्ट प्रशासन चाहिदैन’, हामीलाई आईसीयूमा बेड चाहिन्छ, भ्रष्टाचार त जताततै पाइन्छ लगायतका नारा लेखेको प्लेकार्ड बोकेर उनीहरुको धर्ना आजसम्म पनि जारी छ । हरेक दिन अपराहन ४ देखि ६ बजेसम्म धर्ना दिन तीन सयदेखि आठ सयसम्म युवा, बालबालिका तथा वृद्ध भेला हुने गरेका छन् ।
बीपीमा जाँच गर्न जाने विरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआई बिग्रिएका कारण निजी ल्याबमा जानुपर्ने अवस्था छ । वर्षौंदेखि यस्तो समस्या झेलिरहेको धरानबासी आफैं जागरुक भएर धर्नामा उत्रिएका भने होइनन् । धराने युवाहरुलाई जागरुक बनाउनको लागि काठमाडौंबाट ‘हामी नेपाल’ को टोली आएपछि आन्दोलन उष्कर्षमा पुग्दै गएको हो ।