धरानः धरान-११ का सन्दीप लम्जेलको हत्यामा संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार सन्दीपलाई गत १२ गते ५ः३० बजे धरान–५ स्थित तल्लो देउराली सुन्दरवस्ती छेऊ सेउती बगरमा हत्या गरी फालेको अवस्थामा शव फेला परेको र अनुसन्धानपछि दुईजना पक्राउ परेको जानकारी दिए ।
पक्राउ पर्नेमा धनकुटा सागुरीगढी–८ घर भई धरान–१५ बगरकोटमा रहेको एक सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय किशोर र धरान–१५ बगरकोट बस्ने १३ वर्षीय बालक रहेका छन् । किशोरलाई धनकुटा छिन्ताङबाट र बालकलाई बगरकोटबाट पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरु दुवैजना नावालक रहेकोले गोपनीयता कायम गरी अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता – २०७४ को ज्यान सम्बन्धी कसुरमा दिन ५ (पाँच) म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
उनीहरु दुवै मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुवैजना मिलेर मृतकको पेट, ढाड, कुम र घाँटीको अगाडी भागमा निरन्तर छुरा प्रहार गरिएको र घाँटीको पछाडि गर्धनको भागमा छुराले रेटेर काटेर मारेपछि अनुहार तथा टाउको समेतको भागमा समेत ढुंगाले किच्याइ शवलाई घोप्टो पारेर हिँडेको पाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
घटनाको कारण
सन्दीपले बगरकोटको एक सेकुवा कर्नरमा काम गर्दै आएका साँगुरीगढी– ८ घर भई धरान– १५ बगरकोटमा रहेको वर्ष १७ को किशोरलाई फोन गरेर ‘शारिरीक सम्बन्ध राख्ने केटी खोजी देऊ’ भन्दै धम्काइ गालीगलौज समेत गरेको कुरालाई रिसइवी साँधेर हत्या गरेको बयान ती किशोरले दिएको प्रहरीले जनाएको छ । ‘मृतक लम्जेलले ‘केटी मिलाइदे, नत्र दाँत झारिदिन्छु’ समेत भनेको ती किशोरले बयान दिएका छन्’, डिएसपी श्रेष्ठले भने, ‘त्यस्तो धम्की दिएपछि बालकहरूले योजना बनाएको देखिएको छ ।’
सन्दीपले भनेअनुसारको ‘केटी सम्पर्कमा छ’ भनेर ती किशोरले झुक्याएर खोरिया बस्ती सेउती खोलाको पश्चिम भागसम्म पुगेपछि मोटरसाइकल रोक्न लगाइ होटलबाट लिएर गएको छुरीले उनीमाथि प्रहार गरेका थिए ।
गत बुधबार राति साढे ७ बजेतिर घरमा मोटरसाइकल थन्क्याइसकेका लम्जेल आधाघण्टामा आउने भन्दै हिँडेका उनी गत बिहीबार बिहान ५ बजेतिर मृत भेटिएका थिए ।