Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाइयो

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७९, शनिबार
धरानमा जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाइयो

धरानः धरानमा १७ औं जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाइएको छ ।
‘सम्पूर्ण उत्पीडित दलित शिल्पी एक होऔं’ भन्ने नाराकासाथ यस्तो दिवस मनाइएको हो । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा एक कार्यक्रमका बीच भएको कार्यक्रम नेपाल दलित संघ,नेपाल दलित मुक्ति मोर्चा र समाजवादी दलित शिल्पी महासंघले संयुक्तरुपमा आयोजना गरेका हुन् ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले संविधानमा नै मौलिक हकमा छुवाछुत, विभेदको अन्त्य भएको लेख्न सफल भएको बताए । उनले आगामी दिन दलित समुदायलगायतको संस्कार, संस्कृतिसँग जोडिने आश्वासन दिए । उनले आगामी दिनमा विगतका कमजोरीलाई सच्याउँदै नयाँ ढङ्गले जाने बताए ।
जनता समाजवादी पार्टीको नगर अध्यक्ष ताजुप लिम्बूले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा दलितको ठूलो हात रहेको बताए । जसमा सेतु विक पनि एक भएको बताए । तर उनको सालिक भत्काएको भन्दै साम्प्रदायिक दंगा निम्त्याउन कुचेष्टा गरेको उनले आरोप लगाए ।
नेकपा एमाले धरान नगर उपाध्यक्ष पारस काङमाङले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि दलितमा छुवाछुत र विभेद रहेको बताए ।
संघीय दलित मुक्ति मोर्चाका अध्यक्ष रमेश गजमेरले राज्यलाई गाली गर्दा आफू थाकेको बताए । ‘दलित मुक्तिको लागि कहिलेसम्म एक होऔं भनिरहने ?’ उनले भने ।
नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य दिलबहादुर रामदामले राजाकै पालामा छुवाछुतमुक्त भनेर ऐन लेखिएपनि त्यो व्यवहारमा लागू नभएको बताए । विभिन्न कालखण्डमा ऐन नियम लेखिएपनि कार्यान्वयन भएन भने त्यसको अर्थ नहुने उनले दावी गरे ।
कार्यक्रम नेपाल दलित संघ प्रदेश १ सदस्य विजय अछामिको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने अधिकांशले आगामी कार्यक्रम स्थानीय सरकार धरान उपमहानगरपालिकाले आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: जेष्ठ २१ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend