Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा निर्वाचनपछि कांग्रेसका नेताले के भने ?

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७९, आइतबार
धरानमा निर्वाचनपछि कांग्रेसका नेताले के भने ?

धरानः धरानमा नेपाली कांग्रेसले पराजय भोग्नुपरेकोमा दुःख लागेको नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेस धरान उपमहानगर कार्य समितिद्वारा धरान किचनको सभाहलमा आयोजित निर्वाचित जनप्रतिनिधि, उपविजेतालगायतलाई आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले धरानमा कांग्रेस हार्दा केन्द्रमा समेत खैलाबैला भएको बताए । उनले हारमा अन्तरघात रहेको धारणा राखे । ‘हारमा अन्तरघात भएको छ भन्ने लागेको छ’, उनले भने, ‘यो मेरो व्यक्तिगत कुरा हो तर मलाई यस्तो नै लागेको छ, समीक्षा गरौं, कारण पत्ता लगाऔं ।’
धरान, इटहरी जित्ने भनेर आफूहरु ढुक्क रहेको तर पराजय भोग्नुपरेको बताउँदै उनले पराजयलाई शक्तिमा अघि बढ्न सुझाए । ‘जति ढुक्क थियौं तर हारयौं, पार्टीले हारयो, कारण पत्ता लगाएर अघि बढौं ।’ उनले भने ।
धरान, जनकपुर, काठमाडौं, विराटनगरको राजनीतिले राष्ट्रिय राजनीतिमा असर गर्ने बताउँदै उनले अझै गठबन्धन नै अघि बढ्ने र प्रदेश र संसदीय चुनावमा एकता देखाउनुपर्ने बताए ।
जिल्ला सभापति तथा इनरुवा महानगरपालिकामा गत सम्पन्न निर्वाचनमा मेयरमा निर्वाचित केदार भण्डारीले पार्टीकै कमी कमजोरीले हार व्यहोर्नुपरेको बताए । ‘किशोर राई जी यस्तो परिस्थितिमा जीतको निश्चित हुँदा पनि केही कारणले उहाँले पराजय भोग्नुपरयो तर उहाँको मनमा एकरत्ति पनि उदासिनता छैन । पार्टीको योद्दा, कार्यकर्ता, सिपाही भएको नाताले उहाँले त्यो हारलाई सहजताका साथ स्वीकार गर्नुभएको छ, यो प्रजातान्त्रिक पार्टीको प्रक्रिया हो’, उनले भने, ‘मेयर हारयौं, उपमेयर जितायौं, त्यसबाट हाम्रो पार्टीमा केही कमीकमजोरी रहेछ भन्ने कुरा देखियो ।’
उनले खुलेर भोट पनि हाल्न नसकेको र साथीलाई असहयोग गरिएकोजस्तो देखिएको बताए । ‘खुलेर भोट हाल्न सकेनौं, आफ्नो साथीलाई असहयोग गरयौं, जितेका मान्छेलाई खुशी भएर बधाई पनि दिन सक्दैनौं, हारेको साथीसँग दुःख पनि बाँड्न सक्दैनौं, कस्तो अप्राकृतिक काम भयो, त्यसको पश्चाताप गर्नुपर्छ, त्यसको पार्टीले मूल्याङ्कन पनि गर्छ, जसलाई सघायो, उसलाई खुशीका साथ हामीले विजय जुलुसमा भाग लिन पाउने परिस्थिति आएको भए आनन्द पनि हुन्थ्यो ।’ उनले थपे ।
उनले लुकेर भोट हालेको कारण पार्टीले हारेको आफूलाई लागेको बताए । ‘लुकेर भोट हाल्यौं, आफ्नो साथीलाई अन्याय भयो, पार्टीमा टिकट दिने बेलामा विवाद हुन्छ, यो ठूलो पार्टी हो धेरै साथीहरु आकांक्षी हुनुहुन्छ, कसले पायौं, कसले पाएनौं’, उनले भने, ‘ उपनिर्वाचनमा एकजुट हुँदा कांग्रेसले जितेको ठाउँमा योपटक धोका खायौं ।’
उनले पार्टीले समीक्षा गर्ने, बैठक राख्ने बताउँदै भने, ‘साथीलाई जति चिन्ता छ, त्यो भन्दा बढी पार्टीलाई छ, साथीले हारेको होइन, पार्टीले हारेको हो, यसबारेमा नेता र कार्यकर्ताले नै जिम्मेवारी लिनुपर्छ । उनले पार्टीमा धोका दिनेहरुलाई कारवाही गर्ने समेत बताए ।
निर्वाचितदेखि अन्यलाई सम्मान
धरानमा निर्वाचित बनेका जनप्रतिनिधि, मेयरका प्रत्याशी, उपविजेतालगायतलाई सम्मान गरिएको छ ।
कार्यक्रममा २०७६ को उपनिर्वाचनमा धरानबाट नेपाली कांग्रेसबाट मेयर पदमा ऐतिहासिक जीत हासिल गर्न सफल निवर्तमान मेयर तिलक राई र धरान–५ का तत्कालीन वडाध्यक्ष सन्तोष लिम्बूलाई सम्मान गरिएको थियो । कार्यक्रममा इनरुवा उपमहानगरपालिकाका मेयर एवं जिल्ला सभापति केदार भण्डारीलाई समेत सम्मान गरिएको थियो ।
धरान नगर समितिका सभापति श्याम पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य धरान नगर उपसभापति सन्तोष लिम्बूले गरेका थिए भने प्रदेश १ प्रदेश का समानुपातिक सांसद चन्द्रप्रसाद श्रेष्ठ, क्षेत्र नं. १ क का सभापति अनिल श्रेष्ठले पनि बोलेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: जेष्ठ २२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend