धरानः एसइई आइडलको दोस्रो अडिसन सम्पन्न भएको छ ।
अडिसनबाट ३९ जना सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदेश नम्बर १ ब्यापी वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को दोश्रो चरणको अडिसन शनिबार धरान–१६ स्थित युएन कलेजको सेमिनार हलमा सम्पन्न भएको हो ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीले आयोजना गरेको दोश्रो चरणको अडिसनमा प्रदेश नम्बर १ भरिबाट गायनतर्फ ४१ जना र डान्सिङतर्फ २० गरी ६१ जना सहभागी भएका थिए । गायनमा २५ जना र डान्सिङमा १४ गरी ३९ जना प्रतियोगीहरु सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताका निर्णायकमा गायनतर्फ भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बू र सङ्गीतकार विनायक राई रहेका छन् । त्यस्तै नृत्यतर्फ छमछमी सिजन–३ कि फस्ट रनर अप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम सम्वाहाम्फे रहेका छन् ।
गायन र नृत्य दुवैतर्फका बिजेताले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति, दोश्रो हुनेले ३० हजार रुपैयाँ नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति र तेश्रो हुनेले १५ हजार रुपैयाँ नगद र प्लस टु पढ्न ५० छात्रवृत्ति प्राप्त गर्ने प्रालिका अध्यक्ष डम्बरकुमार तुम्वापोले जानकारी दिए ।
प्रतियोगिताको सेमिफाइनल आगामी ज्येष्ठ २८ गते शनिबार युएन कलेजको सेमिनार हलमा हुने इभेन्ट कोअर्डिनेटर तिर्थ कार्कीले जानकारी दिए ।