Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सन्देश छरिरहँदै धरानका मेयर हर्क साम्पाङ

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७९, आइतबार
सन्देश छरिरहँदै धरानका मेयर हर्क साम्पाङ

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) कहिले भानुचोकमा झाडु लिएर फोहोर टिप्दै हिँड्छन् भने कहिले धरानका सडक वरपरका फोहोर सङ्कलन गर्दै धरानलाई ‘क्लिन सिटी’ बनाउनुपर्छ भन्ने सन्देश छर्दै हिँडिरहेका छन् ।
यसैबीच आइतबार विश्व वातावरण दिवस २०२२ को अवसर पारेर उनले फरक सन्देश छरे । उनी धरानलाई साइकल सिटी बनाउनुपर्ने भन्दै साइकलमात्रै चढेनन् धरानलाई ‘क्लिन सिटी’ बनाउनुपर्छ भन्दै बृहत सरसफाइ कार्यक्रममा सहभागी भए ।
‘साँच्चै नै मानिस हामी आफ्नो घर चिटिक्क पार्छौं, सफा–सुग्घरमा ध्यान दिइरहन्छौं तरपनि आँगन अगाडि बाटोमा फोहोर हटाउन वा सरसफाइ गर्न परे काँडा उम्रिएको झैं गर्छौं’, उनी भन्छन्, ‘धरानमा सरसफाइ गर्नै जुटेपनि धेरैजना मानिसहरू, सरसफाइ अभियान चलाइ हाले तर धरानमा अझै फोहोर फाल्ने क्रम रोकिएको छैन, यसको लागि फरक सन्देश छर्न हिँडिरहेको छु ।’
उनले धेरैपटक यस्तै सन्देश छरिरहने र अटेर गरे नगर प्रहरी खटाएर जरिवानासहितको कारवाही थाल्ने पनि बताए ।
धरान उपमहानगरपालिकाको वातावरण महाशाखाको आयोजनामा साइक्लिङ र सरसफाइ अभियान चलेको हो । साइक्लिङमा मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाले पनि सहभागिता जनाएका छन् । उनले धरानलाई स्वस्थ सहर बनाउन यसले सघाउने बताए । सो कार्यक्रममा विभिन्न संघसंस्थाले पनि सक्दो सहयोग गरेका थिए । उनीहरुले भानुचोकदेखि तीनकुनेसम्म सरसफाइ गरेका थिए । उनले कोशी राजमार्ग आसपासका क्षेत्रका बासिन्दालाई आइन्दा फोहोर नगर्न समेत आग्रह गरे । उनले अबदेखि धरानमा पर्यटक छिर्दा आहा भन्ने खालको बनाउन आफू जहिल्यै लागिपर्ने पनि बताए ।
धरान सफा सहरको नामले परिचित भएर देशविदेशसम्म चर्चा चलेपनि भित्री पाटो फरक रहेको उनको भनाइ छ । ‘धरान सफाजस्तो छ तर मुख्य बजार (भानुचोक आसपास) को सडक नै फोहोर छ’, उनी भन्छन्, ‘धरान यस्तो ठाउँ हो जहाँ खैनी, चुरोट, पान खाँदै प्याच्च थुकिन्छ । प्याच्च थुक्दाथुक्दै, खैनी, चुरोटको ठुटा फाल्दा फाल्दै फोहोर जम्मा भइहाल्छ । धरानको भित्री सडक त्यति फोहोर छैन तर राजमार्ग छेऊछाउ, भानुचोकमा बढी फोहोर देखिन्छ, कहिल्यै सुध्रेन धरान, अब सुध्रनुपर्छ, धराने पनि गल्ली, चोक, भानुचोक जताततै फोहोर गर्छन्, दोष धरान उपमहानगरपालिकालाई दिन्छन्, अबचाहिँ भएन अटेर गरे जरिवाना गर्ने नीति अघि सार्छौं ।’ तस्वीरहरुः राजेश शाक्य

 

 

प्रकाशित मिति: जेष्ठ २२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend