Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी ठूली चन्द्रकला राईः जो इजरायलमा बसेर सहयोग गर्दै

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०७९, बुधबार
धरानकी ठूली चन्द्रकला राईः जो इजरायलमा बसेर सहयोग गर्दै

धरानः धरान-११ की ठूलीचन्द्रकला कोयी राईले वृद्धाश्रमका लागि सहयोग गरेकी छिन् । विदेशी भूमि इजरायलमा कार्यरत् उनले इटहरीको पकलीस्थित राम जानकी शान्ति वृद्धाश्रममा सहयोग गरेकी हुन् । अहिले विभिन्न संघ संस्था तथा सञ्चालकहरु आफैले संकलन गरेर संस्था सञ्चालन गर्दै आएको जनाइएको छ । उनले मनैदेखि, स्वच्छ भावनाले आफूले सहयोग गरेको बताएकी छिन् ।
उनले जन्मदिनको अवसरमा सहयोग गरेकी हुन् । पूर्वाञ्चल डिविआर टिभीका सञ्चालक दिलबहादुर राईको संयोजनमा ती सामग्री प्रदान गरिएको थियो । उनले त्यहाँ रहेका १४ जना वृद्धाहरुलाई खीर खुवाउनुका साथै झुल, चामल, दाल, नुन, तेल, चिनी, फलफूल समेतका लागि रकम पठाएको पूर्वाञ्चल डिविआर टिभीका सञ्चालक राईले जानकारी दिए । उनका अनुसार उनले पठाएको रकमले ती सामग्री किनेर हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
राईले विदेशमा दुःख र परिश्रम गरेर कमाएको केही रकम सामाजिक कार्यमा पनि लगाउँदै आएकी छिन् । उनी लगभग १२ वर्षदेखि त्यहाँ कार्यरत् रहेको उनले जानकारी दिएकी छिन् । इजरायलमा रहेर दुःख, पसिना बगाउँदै परिश्रममै लिप्त उनले वर्षेनीजसो विभिन्न स्थानका असहाय, दिनदुःखी, गरिबहरुको लागि सहयोग बनेकी छिन् ।
कार्यक्रममा पत्रकारहरु अर्जुन शर्मा, राजन केडी, तिर्थ कार्कीलगायतको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै अग्रज पत्रकार समेत रहेका अर्जुन शर्माले विदेशी भूमिमा पसिना बगाएर ठूलीचन्द्रले सुनसरीको यस्तो पवित्र थलोमा सहयोग गरेर पुण्यको काम गरेको बताए । पत्रकार राजन केडीले सहयोग गर्नु सह्रानीय कार्य भएको बताए । ‘एउटा महिला जसले विदेशी भूमिमा बसेर रगत, पसिना बगाएर देशको लागि सामाजिक काम गर्न लागिपर्नु गौरवको कुरा हो ।’ उनले भने ।
आश्रमका अध्यक्ष विष्णुबहादुर डाँगीले ठूलीचन्द्रले जन्मदिनको शुभकामना व्यक्त गर्दै विदेशबाट समेत आश्रमलाई सम्झिएकोमा धन्यवाद व्यक्त गरे । उनले भने, ‘विदेशमा बसेर दुःख गरेरै भएपनि सम्झिदिनुभएकोमा धन्यवाद ।’ आश्रममा रहेकी ज्येष्ठ नागरिक देवकुमारी न्यौपानेले सहयोग पाएकोमा खुशी ब्यक्त गरिन् ।
उनले नेपाल आएर असहायसँग जन्मदिन मनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । ‘विभिन्न बाध्यता र परिस्थितिले आज म विदेशी भूमिमा भएपनि मेरो तनमन सधै नेपालमै हुने गर्दछ । त्यसैले नेपालको माया र नेपालीको दुःख मेरो नजरमा घुमिरहेको हुन्छ । विगतका वर्षहरुमा मैले आफ्नो जन्मदिनको अवसर पारेर नेपालको विभिन्न जिल्लका बिरामी र अशक्त आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई सहयोग गदै आएकी छु’, उनले भनिन्, ‘जन्मदिनबाहेक पनि नेपालमा धेरै मानिसलाई आर्थिक सहयोग गदै आएकी छु । विदेशी भूमिमा दुःख गरेको केही रकम स्वच्छ भावनाले सहयोग गदै आएको हुँ । नेपाल आएर सबैसँग जन्मदिन मनाउनेछु ।’
उनले सेवा नै धर्म भएको बताउँदै स्वच्छ मनले नै सहयोग गर्दै आएको बताइन् । ‘मेरो जन्मदिनमा तपाईहरुलाई मैले धेरै सहयोग त गर्न सकिन मेरो बलबुत्ताले भ्याएसम्म सहयोग गरेकी छु । जीवनमा संघर्ष गर्दागदै पनि अप्ठयारोमा परेका मानिसहरुलाई सेवा गर्नु नै धर्म हो जस्तो लाग्छ, त्यसैले म विदेशी भूमिमा दुःख गरिरहेतापनि मैले कमाएको केही हिसा समाज सेवामा खर्च गदै आएकी छु ।’
उनले यसअघि धरान–३ स्थित सरस्वती बालआश्रम र धरान–१ स्थित धरान पुनस्थापना केन्द्रलाई सहयोग गरेकी थिइन् । जहाँ फरक क्षमता (असहाय, अनाथ) का बालबालिकादेखि वृद्धवृद्धासम्म बस्छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्न, स्वास्थ्य सामग्री प्रदान गरेकी थिइन् । यस्तै, उनले जन्मदिनमा क्यान्सरपीडित चक्रघटीकी चम्पामाया राईलाई ३० हजार बराबरको नगद र खाद्यान्न समेत सहयोग गरेकी थिइन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: जेष्ठ २५ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend