Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने जनता मेयर साम्पाङको साथमा छौं भन्दै धर्ना

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०७९, बिहिबार
धराने जनता मेयर साम्पाङको साथमा छौं भन्दै धर्ना

धरानः बिहीबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक डाकिएको थियो । बैठकअघि धरान उपमहानगरपालिकाअगाडि स्थानीयबासीले धर्ना दिएका छन् ।
धरानका मेयर हर्क साम्पाङ ‘अघि बढ्नुहोस् हामी साथ छौं’ भन्दै उनलाई साथ दिन स्थानीयबासी त्यहाँ पुगेका थिए । नगर प्रमुख अघि बढ्नुहोस्, धराने जनता साथ दिन तयार छ, नदीजन्य नदी, खोला उत्खनन गर्न पाइँदैन, हिजोको भ्रष्ट, आज देखियो प्रष्ट, भ्रष्ट ज्यू खोलानाला दोहन नगरौं कष्ट, स्वतन्त्रको पछि धराने जनता, खबरदार, खोलानाला बेच्न पाइँदैन, यस्ता वडाध्यक्ष धराने जनता चाहिँदैन बहिष्कारलगायतको नारा लेखिएको प्लेकार्ड बोकेर स्थानीयबासीले धर्ना दिएका हुन् ।
स्थानीय गंगालक्ष्मी राईले खोला उत्खनन र दोहन गरे वडाध्यक्षहरुलाई बहिष्कार गरेर अघि बढ्ने बताइन् । ‘छोरानातिले बाबुबाजेले सबै बेचिखाएछन् भन्नेमा हामीलाई पीर छ’, उनले थपिन्, ‘त्यही भएर खोलानाला उत्खनन गर्न हुँदैन भनेर यहाँ धर्ना दिन आएका हौं, यदि वडाध्यक्षहरु सुध्रिएनन् भने खोला उत्खनन र दोहनमै लागेभने धरान जनताले पद पनि खोस्छन् ।’
स्थानीय भक्तसिंह क्षत्रीले मेयर साम्पाङको साथका लागि र खोलानाला उत्खनन र दोहन हुन हुँदैन भनेर खबरदारीस्वरुप धर्ना दिन आइपुगेको बताए ।
यसअघिको कार्यपालिका बैठकमा नदीजन्य पदार्थ उत्खनन् तथा दोहन गर्न बन्द गर्ने प्रस्ताव मेयर साम्पाङले लिएर गएका थिए । प्रमुख साम्पाङले ‘विगतमा नगर क्षेत्र भएर बग्ने नदीहरु सेउती, सेरा, अँधेरी, सर्दुलगायतका खोलामा ठेक्का गरी नदीजन्य पदार्थहरु उत्खनन्ले प्राकृतिक विपत्ति आउने भएको हुँदा नगर क्षेत्रका सबै खोलाबाट नदीजन्य पदार्थको उत्खनन् तथा दोहन गरी विक्री वितरण नगर्ने निर्णय गरियो’ भन्ने प्रस्ताव राखेका थिए ।
वडाध्यक्षहरुले असर नपर्ने गरी नियम सङ्गत हिसाबले खोला उत्खनन हुनुपर्ने पक्षमा लागेका थिए भने मेयर साम्पाङले खोला उत्खनन र दोहन गर्न नहुने पक्षमा मत राखेका थिए । त्यतिबेला बैठकका क्रममा सबैभन्दा धेरै विवाद प्राकृतिक स्रोत खोलाजन्य वस्तुको विक्री वितरण गर्ने कि नगर्ने भन्ने विषयमा भएको थियो । प्रस्तावमा लामो समय विवाद भयो । वडाध्यक्षहरुले उक्त प्रस्ताव पारित हुन नसक्ने भन्दै साम्पाङसँग सवाल जवाफ गरेका थिए ।

प्रकाशित मिति: जेष्ठ २६ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend