धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्दै नबसी स्थगित भएको छ ।
वडाध्यक्ष साथै कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । ‘२ बजेदेखि बैठक शुरु हुने तय भएको थियो ४ बजेसम्म परख्यौं तर वडाध्यक्ष, कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित गर्ने निर्णय भएको हो ।’ उनले भने । उनले आगामी बैठक २९ आइतबार २ बजे डाकिएको जानकारी दिए ।
मेयर हर्कराज राई (साम्पाङ) ले स्थानीयबासी प्ले कार्डसहित धर्नामा बसेको देखेपछि बैठकमा नबस्ने भन्दै वडाध्यक्ष, कार्यपालिका सदस्यहरु फर्किएर गएको आफूले जानकारी पाएको बताए । ‘अधिकांश वडाध्यक्षहरु उपस्थित भएको पनि पाइयो तर यो खालको वातावरणमा हामी बैठकमा बस्न सक्दैनौं भनेर फर्किएको पाइयो’, उनले भने ।
मेयर साम्पाङले भने धराने जनता नगरपालिका आएर ‘सर्दु-सेउती बेच्नु हुन्नँ’ भन्दा बैठक बहिष्कार गर्नेहरुलाई हार्दिक धन्यवाद भन्दै फेसबुक स्टाटसमा लेखेका छन् ।
उता धरान-१५ का वडाध्यक्ष नरेशकुमार इवारमले २ बजे बोलाएको र बैठकका लागि पुगेको तर प्ले कार्डसहित बसेको देखेपछि आफूहरु फर्किएको बताए । ‘प्लेकार्डमै धर्ना दिएको देखेपछि यो वातावरणमा बैठक नबसौं भनेर सल्लाह गरेपछि हामी निस्किएका हौं ।’ उनले भने, ‘फेरि मेयर साम्पाङलाई के को धर्ना हो भनेर भनिएको र उहाँले म बुझेर जानकारी दिन्छु भन्नुभएको थियो तर खबर नै आएन ।’
धरान-१६ का वडाध्यक्ष मुरारी भट्टराईले बैठक नहुने जानकारी भएपछि जनताको काम गर्न भन्दै चाँडै फर्किएको बताए ।
यसअघि बिहीबार बैठकअघि धरान उपमहानगरपालिकाअगाडि स्थानीयबासीले धर्ना दिएका छन् । स्वतस्फुर्तरुपमा पुगेका स्थानीयबासीले धरानका मेयर हर्क साम्पाङ ‘अघि बढ्नुहोस् हामी साथ छौं’ भन्दै उनलाई साथ दिन पुगेका थिए । नगर प्रमुख अघि बढ्नुहोस्, धराने जनता साथ दिन तयार छ, नदीजन्य नदी, खोला उत्खनन गर्न पाइँदैन, हिजोको भ्रष्ट, आज देखियो प्रष्ट, भ्रष्ट ज्यू खोलानाला दोहन नगरौं कष्ट, स्वतन्त्रको पछि धराने जनता, खबरदार, खोलानाला बेच्न पाइँदैन, यस्ता वडाध्यक्ष धराने जनता चाहिँदैन बहिष्कारलगायतको नारा लेखिएको प्लेकार्ड बोकेर स्थानीयबासीले धर्ना दिएका हुन् ।
यसअघिको कार्यपालिका बैठकमा नदीजन्य पदार्थ उत्खनन् तथा दोहन गर्न बन्द गर्ने प्रस्ताव मेयर साम्पाङले लिएर गएका थिए । प्रमुख साम्पाङले ‘विगतमा नगर क्षेत्र भएर बग्ने नदीहरु सेउती, सेरा, अँधेरी, सर्दुलगायतका खोलामा ठेक्का गरी नदीजन्य पदार्थहरु उत्खनन्ले प्राकृतिक विपत्ति आउने भएको हुँदा नगर क्षेत्रका सबै खोलाबाट नदीजन्य पदार्थको उत्खनन् तथा दोहन गरी विक्री वितरण नगर्ने निर्णय गरियो’ भन्ने प्रस्ताव राखेका थिए ।
वडाध्यक्षहरुले असर नपर्ने गरी नियम सङ्गत हिसाबले खोला उत्खनन हुनुपर्ने पक्षमा लागेका थिए भने मेयर साम्पाङले खोला उत्खनन र दोहन गर्न नहुने अडान कसेका थिए ।