धरानः धरान-१ स्थित वीरेन्द्र मेमोरियल कलेजका विद्यार्थीले ‘इण्डष्ट्रियल’ भ्रमण गरेका छन् ।
एमबिएस दोस्रो सेमिष्टरका विद्यार्थीहरुले यस्तो भ्रमण गरेका हुन् । धनकुटाको सिधुवामा रहेको निगाले सिमेन्ट उद्योग तथा पाख्रीबास कृषि फर्मको अध्ययन भ्रमण गराइएको कलेजका प्राचार्य प्रोफेसर ताराबहादुर निरौलाले जानकारी दिए ।
विद्यार्थीले सम्बन्धित ब्यक्तिहरुसँग प्रश्नावलीमा तयार पारिएका प्रश्नहरु सोधेर डाटा संकलन गरेका थिए । सोही डाटाका आधारमा रिपोर्ट तयार पारी विद्यार्थीले कलेजलाई बुझाउनुपर्ने उनले जानकारी दिए ।
‘यसबाट विद्यार्थीमा अनुसन्धान गर्न सक्ने क्षमता र सीप विकास हुने विश्वास कलेजले लिएको छ’, उनले भने । विद्यार्थीहरुलाई पढाइका साथै ब्यवहारिक ज्ञान पनि दिन आवश्यक रहेको र कलेजले पनि यही मान्यता राखेको उनले जानकारी दिए । कलेजले अनुसन्धानमुलक शिक्षामा जोड दिने गरेको प्राचार्य प्रोफेसर निरौला बताउँछन् । यसअन्तर्गत समय समयमा गेस्ट लेक्चरर, ट्रेनर बोलाइ विषयवस्तुमा विशेष ज्ञान तथा तालिमको ब्यवस्था गर्ने गरेको छ भने इन्डष्ट्रियल भिजिट तथा रिपोर्ट राइटिङजस्ता कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरेको छ ।