धरानः धरान-१५ स्थित हिबिस्कस इङ्लीस बोर्डिङ स्कुलमा यस वर्षदेखि कानुन विषयको पढाइ सुरु हुने भएको छ ।
यसअघि कक्षा-११ र १२ मा विज्ञान सङ्कायमा पठनपाठन हुँदै आएको र यस वर्षदेखि कानुन विषय थप गरेर पठनपाठन थाल्ने सञ्चालक, प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए । उनका अनुसार शनिबार आयोजता भएको कानुन विषय पठनपाठनको आवश्यकता विषयमा अन्तरक्रिया आयोजना गरिएको र सो अन्तक्र्रियाबाट कानुन विषय आवश्यक रहेको सबै पक्षबाट धारणा आएको र यसलाई यस वर्षदेखि नै कार्यान्वयन गरेर अघि बढ्ने उनले जानकारी दिए ।
अन्तरक्रियामा अधिवक्ता दर्शन राईले ‘धरानमा कक्षा–११ र १२ मा कानुन विषय शिक्षण’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले धरानमा विशेषतः कानुनी शिक्षाको जरुरी रहेको धारणा राखेका थिए ।
उनले कानुनी शिक्षा सहज, सरल, कम खर्चिलो हुनुका साथै यसले शिक्षा पाइसकेपछि धेरैले कानुनी विषयमा ज्ञान बढ्ने बताएका थिए । ‘धरानमा कानुन शिक्षा छैन, यो पढ्न विराटनगर, इटहरीसम्म धाउनुपर्नेसम्मको अवस्था छ, वर्तमान समयमा कानुन हरेक नागरिकलाई आवश्यक छ, त्यसैले यो शिक्षा आवश्यक हो ।’ उनले भने ।
कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरूले कानुन शिक्षा वर्तमान आवश्यकता भएको बताएका थिए । कार्यक्रममा पब्लिक हाईस्कुलका प्राचार्य इन्द्रमोहन झा, अधिवक्ताहरू दीपककुमार बुढाथोकी, सूर्यबहादुर राई र विश्वगोपाल अधिकारी तथा अभिभावकहरू अञ्जना चेम्जोङ, मीना श्रेष्ठ, लोकबहादुर तामाङलगायतले बोलेका थिए ।
धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान–१५ का वडाध्यक्ष नरेश इवारमलगायतको समेत उपस्थिति थियो । कार्यक्रममा नवनिर्वाचित उपमेयर बेघा र धरान–१५ का वडाध्यक्ष इवारमलाई सम्मानसमेत गरिएको सहायक प्रिन्सिपल विजयसिंह थेबेले जानकारी दिए ।


