धरानः विशेषतः ब्याडमिन्टनमा जितिरहने एक छात्रसहित तीनजना विद्यार्थीलाई धरान–१२ स्थित सुनाखरी एकेडेमीले सम्मान गरेको छ ।
सुनसरी जिल्लास्तरीय खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उनले विजेता बनेका थिए । जेठ २८ र २९ गते धरानमा सम्पन्न प्रतियोगितामा उनी बिजेता बन्दै नगद ६ हजार रुपैयाँ पनि प्राप्त गरेका थिए । उनलाई स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीकै अगाडि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा उनलाई स्कुलले नगदसहित सम्मान गरेको थियो । सधैंजसो जितिरहने हुनाले उनलाई यसरी नगदसहित सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए ।
उनले यसअघि अल नेपाल इन्टर स्कुल ब्याडमिन्टन टुर्नामेण्ट २०७९ मा उनी फस्ट रनरअप बनेका थिए भने दर्जनौं प्रतियोगितामा भाग लिएर बिजेता बन्दै पुरस्कार जितिरहेको प्रिन्सिपल राईले जानकारी दिए । ‘उनले अहिलेसम्म दर्जनौं ठाउँका प्रतियोगितामा भाग लिएर पुरस्कार जितिरहेका छन्’, उनले भने ।
यस्तै, धरानमा फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीले आयोजना गरेको प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को फाइनलमा पुग्न सफल छात्रछात्रालाई पनि सम्मान गरिएको थियो ।
सिङ्गीङतर्फ ओङ्दी तामाङ र डान्सिङतर्फ प्रकृति खापुङ टप १० भित्र पर्न सफल भएका थिए । उनीहरुलाई एकेडेमीका डाइरेक्टर प्रदीपकुमार राई, प्रिन्सिपल राईलगायतले सम्मान गरेका थिए । विद्यालयका अधिकांश विद्यार्थीलाई हौसला प्रदान होस् भनेर विद्यार्थीले जितेपछि सम्मानको कार्यक्रम राख्दै आएको प्रिन्सिपल राईले जानकारी दिए ।
प्रिन्सिपल राईका अनुसार पढाइमा विशेष जोड दिँदै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी खरो उत्रिँदै आएको बताए । उनले विद्यार्थीले स्थानीय, प्रदेश र राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सामेल भएर जित्दै आएको बताए ।




