धरानः धरानमा बिजुली कहिले जाने, कहिले आउने टुङ्गो नहुँदा उपभोक्ता मारमा परेका छन् ।
धरानमा विद्युत अनियमित बनेको निकै लामो समय भएको छ । झ्याप्प झ्याप्प बिजुली जाने समस्याले यहाँका उपभोक्ता हैरान बनेका छन् ।
कहिले सडक निर्माण, कहिले चट्याङले हिर्काएको त कहिले बिजुलीको तारको समस्याले भन्दै बिजुली काटिने गरेको स्थानीयले बताएका छन् । बिजुली जाने समस्यामा विद्यार्थी, अन्य पेशा र व्यवसायमा लागेकाहरु मर्कामा पर्दै गएका छन् ।
घरीघरी विद्युत गइरहने समस्याले कम्प्युटर पनि बिग्रिँदै गएको व्यवसायी बताउँछन् । ‘झ्याप्प बिजुली गइरहँदा कम्प्युटरलगायत अन्य इलेक्ट्रोनिक्स सामग्री बिग्रिने समस्या भइरहन्छ’, एक व्यवसायी नाम नछाप्ने शर्तमा भन्छन्, ‘यस्तो समस्या कहिलेसम्म हो ?’
‘फोन गर्दा खै मर्मत गरिँदैछ भनिन्छ,’ धरान–१७ का सुरज राई भन्छन्, ‘हामीलाई त विश्वास नै छैन, एक दुईदिन त होला तर सधैंजसो बिजुली अनियमित बन्नु त भएन नि ।’
किन जान्छ सर झ्याप्प झ्याप्प बिजुली ? धरानस्थित विद्युत प्राधिकरण शाखाका प्रमुख साजन महर्जन भन्छन्– सडक विस्तार, मर्मत आदिका कारणले पनि विद्युत् अनियमित बनेको हो । ‘लोडसेडिङ त हुँदै होइन’, उनले भने, ‘बिजुली जाने समस्या भनेको मर्मत–सम्भारकै कारणले हो ।
उनले अहिले वर्षायाममा चट्याङ हानिरहने र मर्मत सम्भारकै कारण बिजुली झ्याप्प झ्याप्प जाने समस्या रहेको बताए ।