धरानः धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० को लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
नीति तथा कार्यक्रममा धरान नगर क्षेत्रमा बढिरहेका बाँदरजन्य क्रियाकलापहरु नियन्त्रण गर्न कार्यक्रम ल्याइएको जनाइएको छ । बाँदर नियन्त्रणका लागि धरान–१४ को पञ्चकन्या जंगलमा ‘मङ्की जोन’ लगायत सञ्चालन गरिने जनाइएको छ । ‘बाँदरजन्य क्रियाकलापहरु नियन्त्रण गर्न कार्यक्रमहरु सञ्चालन गरिनेछ’, उपमेयर अइन्द्रविक्रम बेघाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ, ‘पञ्चकन्या जंगल धरान–१४ लाई मंकी जोन लगायत अन्य वन्यजन्तु संरक्षण क्षेत्र बनाइनेछ ।’
मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो फेसबुक पेजमार्फत् समेत मंकी पार्क बनाउने घोषणा गरिसकेका छन् । उनले लेखेको फेसबुक पोष्ट यस्तो छः
अब हामी पाखा भरि फलफूलका वृक्ष रोप्नेछौँ ताकी बाँदरहरु खानाको खोजिमा शहर नछिरून् ! बाँच्ने अधिकार उनीहरुको पनि उत्तिकै छ यो धर्तीमा ! We will make a monkey park.
धरानको खानेपानी समस्या समाधान गर्न लागिने नीति तथा कार्यक्रममा जनाइएको छ । कोशी नदीबाट नगरको खानेपानीलाई आपूर्ति गर्ने व्यवस्थाको लागि प्राविधिक सम्भाव्यता अध्ययन गरी संघ र प्रदेश सरकारको सहकार्यमा निर्माण कार्य अघि बढाइने नीति तथा कार्यक्रममा जनाइएको छ ।
यस्तै, खानेपानीकै समस्या समाधानका लागि सर्दु, खर्दु खोलामा खानेपानी डयाम निर्माण सम्भाव्यता अध्ययन गरी आयोजना निर्माण कार्य अघि बढाइने समेत जनाइएको छ ।
जल पुनर्भरण योजना र वर्षातको पानीसंकलन गर्ने प्रविधिलाई उपयोगमा ल्याउन प्रारम्भ, वाटर सप्लाइ पोइन्ट स्थापना गरी वडा कार्यालयको समन्वयमा सहज आपूर्तिको व्यवस्था, खानेपानीका जीर्ण तथा पुराना पाइप हाइड्रोइलेक्ट्रिकललगायत संरचनाहरु मर्मत सम्भार गरी पानी आपूर्तिमा अवरोध सिर्जना नहुने गरी व्यवस्था मिलाइने समेत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
नगर प्रमुख जलाधार संरक्षण कार्यक्रम सञ्चालन गरी धरानभित्र रहेका भूमिगत पानीका मूलहरु, जलाधार, सीमसार क्षेत्रहरुको संरक्षण एवं प्रवद्र्धन गर्दै ती स्रोतहरुबाट खानेपानी आपूर्तिको प्रबन्ध समेत मिलाइने जनाइएको छ ।