धरानः धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि नीति तथा कार्यक्रम पारित भएको छ ।
पारित भएको नीति तथा कार्यक्रमको शिक्षातर्फ विभिन्न महत्वपूर्ण विषयहरु समेटिएका छन् । उपमेयर अइन्द्रविक्रम बेघाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा ट्राफिक नियमलाई पाठ्यक्रममा समावेश गरिने जनाइएको छ । ‘धरान उपमहानगरपालिकाको स्थानीय शिक्षा पाठ्यक्रम लागू गरिनेछ । त्यस्तो पाठ्यक्रममा अतिरिक्त क्रियाकलाप र विविध समुदायको जातीय, सांस्कृतिक पहिचान बोध गराउन अवलोकन भ्रमण पद्दतिबाट अभ्यास कक्षा र प्रयोगात्मक शिक्षा दिन जोड दिइनेछ । साथै ट्राफिक नियमलाई पाठ्यक्रममा समावेश गरिनेछ ।’ पारित भएको नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तै, ‘नगर प्रमुख सहायता कोष’ निर्माण गरी अति विपन्न बालबालिकाहरुलाई निःशुल्क शैक्षिक सामग्री, पोशाक तथा छात्रवृत्ति व्यवस्था गरी सीपमूलक शिक्षा दिने नीति लागू गरिने जनाइएको छ ।
धरानको ११ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा धरान–१३ स्थित सत्यसाई स्कुलसँग भएको सम्झौताअनुसार साइन्स पार्क पनि निर्माण गरिने जनाइएको छ । यस्तै, बीचैमा विद्यालय छोड्ने विद्यार्थीहरुलाई शिक्षा पुरा गर्न प्रोत्साहनको लागि प्याकेज सञ्चालन गरिने भएको छ ।
अंग्रेजी माध्यममा शिक्षा दिन इच्छुक नयाँ सामुदायिक विद्यालयलाई पूर्वाधार तथा शिक्षक दरबन्दीलगायत कार्यमा प्रोत्साहन दिई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर प्रवद्र्धन गरिने जनाइएको छ ।
यस्तै, संस्थागत विदालयमा कार्यरत शिक्षकलाई श्रम ऐनले तोकेबमोजिम न्युनतम पारिश्रमिक उपलब्ध गराउने नीति कार्यान्वयन गरिने जनाइएको छ ।
नीति तथा कार्यक्रममा उच्च शिक्षालाई थप गुणस्तरीय, सुदृढ र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिने समेत जनाइएको छ भने बालमैत्री तथा अपाङ्गमैत्री संरचना निर्माणमा जोड दिइने जनाइएको छ ।
नगर क्षेत्रभित्रका गुरुकुल, मदरसा र गुम्बाजस्ता शिक्षालयहरुको स्तरोन्नति, संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा पुरयाएको योगदानलाई उच्च कदर गर्दै नगरको शैक्षिक उन्नयत र विकासमा निजी विद्यालयको पृष्ठपोषक र प्राज्ञिकताको परिचालन गर्ने नीति लिइने समेत नीति कार्यक्रममा समेटिएको छ ।