धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलका विद्यार्थीले मतदान गरेका छन् ।
प्रजातान्त्रिक शासन प्रणालीमा निर्वाचनको महत्व, निर्वाचनका विविध चरण तथा प्रक्रियाहरू सम्बन्धमा प्रयोगात्मक अभ्यासद्वारा जानकारी प्रदान गर्न मतदान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
गत ५ गते आइतबारदेखि उम्मेदवारी दर्ताबाट शुरु भएको निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार मतदान कार्यक्रम सम्पन्न भएको उनले जानकारी दिए । निर्वाचन कार्यक्रममा विद्यालयमा युवा रेडक्रस सर्कल गठनका निम्ति आवश्यक सभापतिलगायत विभिन्न पदहरूमा कक्षा–६ देखि माथिका इच्छुक विद्यार्थीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचनका मतदान अधिकृत हेमन्त दाहालका अनुसार यस निर्वाचनमा कुल विद्यार्थी मतदाता संख्याको ९६.५ प्रतिशत मत खसेको थियो । निर्वाचन आयुक्त तथा विष्णु मेमोरियल युवा रेडक्रसका शिक्षक नायक भवानीप्रसाद खतिवडाले निर्वाचनको नतिजा आउँदो हप्ताभित्रमा प्रकाशन गर्ने कार्य तालिका रहेको बताए ।