धरानः धरानमा एक बोर्डिङ स्कुल अनुमति, स्वीकृतिबेगर सारेको भन्दै धरान उपमहानगरपालिकाको कार्यालयमा उजुरी परेको छ ।
धरान-१ मा सञ्चालनमा रहँदै आएको माउण्ट मोरिया इङ्लिस बोर्डिङ स्कुल धरान-१७ सियोन मार्गमा सञ्चालकले सारेपछि सो उजुरी परेको हो । धरान उपमहानगरपालिका शिक्षा ऐन २०७८ को दफा (१७) मा विद्यालय एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्दा उपमहानगरपालिकाको अनुमति, स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
यस्तै, कुनै पनि विद्यालय सार्दा दुई स्कुलको अनुमति लिनुपर्ने प्रावधान समेत छ । तर बिनाअनुमति, स्वीकृति विद्यालय स्थानान्तरण गरिएको भन्दै धरानका करिब ७ वटा स्कुलले सो स्कुलविरुद्ध उजुरी दिएका थिए । सञ्चालकले आफ्नै घरमा सारेको भनेर लगेपनि अर्कै भवन भाडामा लिएर समेत विद्यालय सञ्चालन गर्न थालेको छेऊछाउका सञ्चालकहरुको भनाइ छ ।
उजुरी दिएपछि धरान उपमहानगरपालिकाले एक महिनाभित्र धरान-१७ मा सञ्चालन रहेको विद्यालय बन्द गरी वडा नं. १ मै सञ्चालन गर्न अनुरोध गरेको छ । असार ६ गतेको नगर प्रमुखस्तरीय निर्णयले नै सो अनुरोध गरेको जनाइएको छ ।
प्रमुख प्रशसकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाले तोकिएको समयभित्र वडा नं. १७ बाट विद्यालय बन्द नगरेमा प्रचलित कानुन बमोजिम हुने समेत जनाइएको छ ।
उता सञ्चालक एजी सुब्बाले धरान-१ मा विद्यालय सञ्चालन हुँदै आएको र घरधनीले निकालेपछि यो हालत भएको प्रतिक्रिया दिए । ‘घरधनीले कोठा भाडामा नदिने भनेपछि आफ्नै घरमा सरेका हौं’, उनले भने, ‘साथीहरुले स्कुल बन्द गराउनतिरै लागेको देखियो, चिठी थमाइएको तीनदिन भयो, अरु दिन बाँकी छ, हेरौं के हुन्छ ।’
