Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पिण्डेश्वर क्याम्पसमा प्राध्यापकहरुमा विषयगत र सीपगत क्षमता विकास

हाम्रो कोशी आवाज
असार १३ २०७९, सोमबार
धरानको पिण्डेश्वर क्याम्पसमा प्राध्यापकहरुमा विषयगत र सीपगत क्षमता विकास

धरानः विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक संस्था पिण्डेश्वर विद्यापीठ, धरानमा तीनदिने प्राध्यापन क्षमता विकास तालिम सम्पन्न भएको छ ।
असार १० गतेदेखि १२ गतेसम्म सम्पन्न तालिममा विद्यापीठमा शिक्षण गर्ने प्राध्यापकहरूमा विषयगत र सीपगत क्षमता विकासका लागि कार्यक्रमको आयोजना गरिएको संयोजक प्रा.डा.चन्द्रमणि नेपालले बताए । कार्यक्रमका लागि निर्धारित तीनदिनको समयलाई १२ वटा सत्रमा विभाजन गरी हरेक सत्रका लागि १ घण्टा ३० मिनेट छुट्याई समयसीमामा रही १० वटा कार्यपत्र प्रस्तुति, टिप्पणी र छलफलसमेत गरी निष्कर्ष निकाल्ने काम भएको उनले जानकारी दिए ।
पहिलो दिनको उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका कुलसचिव नीलमणि पोखरेलले पानसमा बत्ती बाली कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भाषाविद् प्राध्यापक टङ्कप्रसाद न्यौपाने, विद्यापीठका पूर्व प्राचार्यहरू प्रा.नारायणदत्त पौडेल, प्रा.नारायणप्रसाद शर्मा कट्टेल एवम् प्रा.वंशीधर कट्टेललगायतका विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।
विद्यापीठका विद्यार्थीहरूले वैदिक स्वस्तिवाचन गरेका थिए । तीन दिनसम्म चलेको क्षमता विकास तालिममा विद्यापीठका प्राध्यापकमात्र नभएर विद्यार्थीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । समुद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि पोखरेलले संस्कृत भाषा विश्वकै प्राचीनतम भाषा भएको बताउँदै यसको अध्यापनको आवश्यकता अझै बढेर गएको साथै संस्कृतमा नै सम्पूर्ण ज्ञानराशि रहेको हुनाले यसको संरक्षण र प्रचारप्रसारमा राज्यले नै ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि रहेका प्रा.डा.न्यौपानेले पहिले कण्ठस्थ पारेका संस्कृत व्याकरणका सुत्रको अर्थ भर्खर मात्र आफूले बुझ्न थालेको बताउँदै यसभित्र रहेका गहनतम ज्ञानराशिलाई बाहिर ल्याउनुपर्दछ भन्ने धारणा राखेका थिए । डा.महानन्द तिमिल्सिनाले उद्घाटन कार्यक्रमको सहजीकरण तथा सञ्चालन गरेका थिए ।
पहिलो दिनको दोस्रो सत्रमा उपप्रा.डा.रमेश लिम्बूले अनुसन्धान प्रविधि शिक्षणः समस्या र समाधान शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि उपप्रा.डा.कृष्ण भण्डारीले टिप्पणी गरेका थिए । सहप्रा.डा.सागरमणि सुवेदीले संस्कृत साहित्यसँग सम्बन्धित साहित्य शिक्षण ः समस्या र समाधान शीर्षकको कार्यपत्र प्रस्तुत गरेको थिए । त्यसको टिप्पणी सहप्रा.डा.गुरुप्रसाद कोइरालाले गरेका थिए । दुवै कार्यपत्रहरूमाथि समीक्षक प्रा.डा.टङ्कप्रसाद न्यौपानेले समग्र समीक्षा प्रस्तुत गर्दै कार्यपत्रमा थप्नुपर्ने विषयहरू प्रष्ट पारेका थिए । सत्रको सञ्चालन उपप्रा.दीपक पराजुलीले गरेका थिए ।
दोस्रो दिनको पहिलो सत्रमा उपप्रा.डा. तिमिल्सिनाले संस्कृत शिक्षणका सहायक सामग्रीहरू शीर्षकको कार्यपत्र पेस गर्दै संस्कृतजस्तो जटिल विषयलाई पनि आधुनिक श्रव्यदृश्य सामग्रीहरूको उपयोगले सरल बनाउन सकिने बताए । यसैगरी सहप्रा.डा.भवानीशङ्कर भट्टराईले संस्कृत व्याकरण शिक्षणका अधुनातन पद्धतिहरू शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै प्राचीन संस्कृत व्याकरणलाई पनि विद्यार्थीकेन्द्रित विधिहरू अपनाएर सजिलै बुझाउन सकिने तर्क राखे ।

प्रा.डा.चन्द्रमणि नेपालले दर्शनशास्त्र शिक्षणका विधि र प्रक्रियाहरू शीर्षकको कार्यपत्रमार्फत न्याय, वेदान्त, साङ्ख्य, मीमांसाजस्ता दर्शन शिक्षण गर्ने प्रभावकारी उपायहरू प्रस्ताव गरेका थिए । यी कार्यपत्रहरूमाथि क्रमशः उपप्रा.टीकाराम दाहाल, उपप्रा.सुमन खतिवडा र उपप्रा.तुलसी पौडेलले टिप्पणी गरेका थिए । उपप्रा. सोमनाथ रेग्मीले सञ्चालन गरेको यस सत्रको कार्यक्रमको सभापति प्रा.डा. भरतप्रसाद भट्टराई रहेका थिए भने यी कार्यपत्रहरूमाथि प्रा.डा.गोपालप्रसाद भण्डारीले समग्र समीक्षा प्रस्तुत गरेका थिए ।
यस दिनको दोस्रो सत्रमा उपप्रा.डा दिवाकर रेग्मीले संस्कृत मूल विषय भएका विद्यार्थीलाई अङ्ग्रेजी शिक्षण गर्दाका समस्या शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो डा.नित्यान्द खतिवडाले नेपाली भाषा शिक्षणका चुनौती र समाधान एवम् सहाप्रा. अम्बरराज ढकालले ज्योतिषशास्त्र शिक्षणका विधि र प्रविधि शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । यी तीन कार्यपत्रमाथि क्रमशः उपप्रा.जंगबहादुर भट्टराई, सहप्रा. डेगराज पौडेल र उपप्रा. हरिनारायण बाँस्कोटाले टिप्पणी गरेका थिए । सहप्रा.डा.खेमराज खनालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सहप्रा.टेकनाथ घिमिरेले गरेका थिए भने तीनवटै कार्यपत्रमाथि समग्र समीक्षा डा. आनन्द आचार्यले गरेका थिए ।
यसैगरी तेस्रोे दिनको पहिलो सत्रमा सहप्रा.डा.खेमराज खनालले संस्कृत शिक्षणमा मूल्याङ्कन प्रक्रिया शीर्षकको कार्यपत्र र सहप्रा.डा.रमेश घिमिरेले संस्कृत भाषा शिक्षणका चुनौती र समाधान शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । ती दुई कार्यपत्रमाथि क्रमशः उपप्रा.डा.पुष्पलाल न्यौपाने र प्रा.डा.भरतप्रसाद भट्टराईले टिप्पणी गरे । यस सत्रको कार्यक्रम सञ्चालन उपप्रा. श्रीकृष्णगोपाल अधिकारीले गरेका थिए भने दुवै कार्यपत्रमाथि उपप्रा.डा.दीपकप्रसाद न्यौपानेले समग्र समीक्षा प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुति सकिनासाथ समापन समारोहको आयोजना गरिएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्बाहाङले बाल्यकालमा आफूले संस्कृत पढ्दाको अनुभव सुनाउँदै संस्कृत शिक्षाले व्यक्तिलाई अनुशासनमा राख्ने, नैतिक आदर्श सिकाउने र कर्तव्यनिष्ठ एवम् इमानदार नागरिक बनाउने बताए ।
त्यसैगरी उपप्रा. जीवनकुमार राईले संस्कृत भाषा विश्वकै प्राचीन र समृृद्ध भाषा हो भन्दै संस्कृत विषय प्राध्यापनका लािग यस कार्यक्रमले उल्लेख्य योगदान पुरयाउने बताए । संस्कृत भाषालाई अझै प्रचार गर्दै यसको विकासमा हामी सबैले सामूहिक पहल गर्नुपर्दछ भन्ने धारणा राख्दै प्रा.डा.न्यौपानेले कार्यक्रम अत्यन्त उपयोगी र फलदायी रहेको बताए ।
कार्यक्रमका सभापति एवम् विद्यापीठका प्राचार्य काशीनाथ पौडेलले तीन दिनसम्म चलेको क्षमता विकास कार्यक्रमले प्राध्यापकहरूमा थप ऊर्जा प्रदान गर्ने विषयमा विश्वस्त रहेको बताए । समापन कार्यक्रमको सञ्चालन डा.महानन्द तिमिल्सिनाले गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सहभागी प्राध्यापकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको समग्र प्रतिवेदन डा.गुरुप्रसाद कोइराला र उपप्रा.गिरिराज खतिवडाले तयार गरेका थिए ।
प्राचीन भाषा संस्कृतलाई आधुनिक श्रव्यदृश्य सामग्रीको उपयोग गर्दै शिक्षण गर्न, संस्कृत शिक्षणमा पनि अन्य विषयमा प्रचलित आधुनिक विधि र पद्धतिहरूको प्रयोग गर्दै शिक्षण गर्न, कण्ठस्थ गर्ने मात्र नभई बुझाइलाई समेत महत्त्व दिन, विद्यार्थीकेन्द्रित विधि अपनाउँदै शिक्षण गर्न, व्यावहारिक र प्रयोगात्मक शिक्षणमा जोड दिन, परियोजना कार्यलाई प्रभावकारी बनाउन एवम् मूल्याङ्कन प्रक्रियालाई अझ व्यवस्थित बनाउन यस कार्यक्रमले प्राध्यापकहरूलाई अभिप्रेरित गरेकाले संस्कृत विश्वविद्यालयको पठनपाठन प्रणालीमा सुधार ल्याउनसमेत यो कार्यक्रम कोसेढुङ्गा रहेको कुरा क्षमता विकास कार्यक्रमका सदस्य सचिव डा.तिमिल्सिनाले बताए ।

प्रकाशित मिति: असार १३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend